karsang
Close Me

पुनः रिलिज हुँदै ‘बुलाकी’, साउन ३२ गते प्रदर्शन हुने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बुलाकी’ पुनः रिलिज हुने भएको छ । चलचित्र साउन ३२ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको हो ।

लक्ष्मण सुनारको निर्देशन रहेको चलचित्र लेखक राजबहादुर साने हुन् । टोपेन्द्र विष्ट निर्माता रहेको चलचित्र रि–रिलिज हुन लागेको हो ।

‘बुलाकी’मा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोहअबरोहको कथा छ ।

चलचित्रमा नरेन खड्का, सुरक्षा पन्त, बिराज बिष्ट मुख्य भूमिकामा छन् । चलचित्रमा रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइका अलवा प्रकाश कँडेल र सरस्वती खत्रीको पनि अभिनय छ ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको सिनेमा शिब ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको सिनेमामा राजबहादुर सानेको कथा छ । राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्ट पटकथा तथा संवाद छ ।

नरेन ‘बुलाकी’लाई मौलिक सिनेमा भन्छन् । नेपालमा मौलिक सिनेमा भएनन् र हुनुपर्छ भनिरहेका बेला आफूहरूले मौलिक सिनेमा लिएर आएको उनको दाबी छ । ‘हामी मौलिक सिनेमा भएन नेपालमा, हाम्रो आफ्नै मौलिक सिनेमा चाहियो भन्छौँ । हो हामीले भनेजस्तै मौलिक सिनेमा हो यो,’ नरेनले स्पष्ट पारे ।

‘बुलाकी’ पश्चिम कर्णालीको विषयमा बनेको सिनेमा हो । त्यहाँका मान्छेले बाँच्नका लागि गर्ने दुःख । कर्णालीका मान्छेले बोल्न र लगाउनका लागि गर्ने दुःखलाई सिनेमाको कथाले समेटेको छ ।

कर्णालीको संस्कृतिमा सिनेमा बनाएको निर्माणपक्षले बताएको छ । ‘बुलाकी’ आफ्नै प्रतिबिम्ब देखिने मौलिक सिनेमा भएको निर्माणपक्षले बताएको छ ।

‘बुलाकी’ गत वर्षको वैशाख १ गते ‘जारी’ र ‘विहेपास’सँग रिलिज भएको थियो । यो चलचित्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड समेत जितिसकेको छ ।

चलचित्रको छायांकन डोल्पा, जाजारकोट र रुकुम पश्चिमका रमणीय स्थानमा गरिएको छ । सिनेमालाई वितरण त्रिनेत्रम् र एफडीले गरेको छ ।