नरेन र बेनिशाको ‘बिगुल’को शुभु मुहूर्त

काठमाडौं । अक्षय तृतीयाको अवसर पारेर नयाँ चलचित्र ‘बिगुल’को शुभु मुहूर्त गरिएको छ । रमेश कोइरालाको निर्देशनमा निर्माण हुने सिनेमाको बुधबार कोटेश्वर महादेवस्थानमा शुभु मुहूर्त गरि काम अगाडि बढाइएको हो ।
बैशाख तेश्रो साताबाट छायांकन सुरु गरिने ‘बिगुल’को मुहूर्त सट चलचित्रका प्रमुख कलाकारद्वय बेनिशा हमाल र नरेन खड्काले दिएका थिए ।
सामाजिक जागरण, समसामयिक राजनीति, आम नागरिकको कर्तव्य र जिम्मेवारी बोधका साथमा प्रचुर मनोरञ्जनले भरिने बताइएको चलचित्रको मुहुर्त सटको क्यामेरा स्वीच अन चलचित्र विकास बोर्डका पूर्व सदस्य राजेन्द्र केसीले गरेका थिए भने निर्देशक प्रदिप श्रेष्ठले क्ल्याप हानेका थिए ।
चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले निर्देशन गरेको मुहूर्तमा निर्देशक सुचित्रा श्रेष्ठले नरिवल फोडेकी थिइन् ।
अभिनेता नरेनले समाज जागरणको बिगुल स्वरुपको संवाद बोलेका थिए भने संवादसँगै अभिनेत्री बेनीशाले स्वतन्त्रता र शान्तिको प्रतिक स्वरुप एक जोडी परेवा उडाइएकी थिइन ।
दिनेश कोइरालाको कथामा मौनता श्रेष्ठको पटकथा, सम्वाद रहेको फिल्म शिब ढकालले खिच्ने छन् । कल्पना पौडेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा महेश कोइराला र सूर्यकान्त कोइराला छन् ।
म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण हुने चलचित्रमा बेनिशा र नरेनसँगै नीर शाह, रमेश बुढाथोकी, गीता अधिकारी, हेमन्त बुढाथोकी, जेएन घिमिरे, सुमोद भारद्वाज, विनयराज पौडेल, सुपा खनाल, बबि भारती, तुलसी लम्साल, जयन्त रेग्मी, विकास अधिकारी र बालकलाकार श्रेयान्सी थपलियाको अभिनय रहनेछ ।
चितवनबाट छायांकन सुरु हुने भनिएको यस चलचित्रका गीतमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहनेछ । कविराज गहतराजको कोरियोग्राफी रहने फिल्मको निर्माण व्यवस्थापन श्याम केसीले सम्हाल्नेछन् ।