चलचित्र ‘माइतीघर’को छायांकन म्याग्दीको ताकम गाउँबाट सुरु

काठमाडौँ । सोसल ड्रामा जनरामा निर्माण हुन लागेको चलचित्र ‘माइतीघर’को छायांकन सुरु गरिएको छ ।

बिहिवार म्याग्दीको ताकम गाउँमा रहेको स्थानीय गणेश मन्दिरमा शुभसाइत र पूजा गर्दै छायांकन सुरु गरिएको हो ।

शुभसाइतअघि ‘माइतीघर’को टिमलाई बाजागाजासहित स्वागत गरिएको थियो । निर्माता रोहित अधिकारीका अनुसार चलचित्रको पहिलो चरणको छायांकन ताकम र धारपानी गाउँमा २० दिनसम्म चल्नेछ भने दोस्रो चरण दरबाङस्थित तातोपानी क्षेत्रमा हुनेछ, जहाँ थप २० दिन सुटिङ गरिने छ ।

मिलन तामाङको निर्देशनमा निर्माण भइरहेको हुने यो चलचित्रको छायांकन ४० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

शुभसाइत कार्यक्रममा धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन प्रमुख अतिथि थिए । उनले पहिलोपटक गाउँमा सिनेमा सुटिङ हुन लागेकोमा उत्साह व्यक्त गर्दै यसले गाउँको पर्यटन विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

वडा नम्बर ७ का अध्यक्ष अशोक खत्रीले शुभसाइतको अवसरमा नरिवल फोडेर औपचारिकता पूरा गरे । उनले पनि प्रचारप्रसार राम्ररी भएमा सिनेमाले यस गाउँको विकासमा सकारात्मक प्रभाव पार्ने धारणा राखे ।

रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ र शिशिर वाङ्देललगायत कलाकारको अभिनय रहनेछ ।

सुसन प्रजापतिको छायांकन रहने चलचित्रका रविन शेरचन र धीरज तामाङ सह-निर्माता हुन् भने कार्यकारी निर्मातामा इश्वर श्रेष्ठ र नीरज कटुवाल रहेका छन् ।

निर्माणपक्षले चलचित्रको नाम ‘माइतीघर’ राखे पनि यो पुरानो चलचित्र माइतीघरको सिक्वेल भने नहुने बताएको छ । शीर्ष गीत भने पुरानो ‘माइतीघर’को हुनेछ ।

निर्माणपक्षका अनुसार ‘माइतीघर’ ले तामाङ समुदायको संस्कृति र जीवनशैलीलाई कथाको मूल धार बनाएको छ । दशैंको फूलपातीको दिन फिल्म सार्वजनिक गर्ने तयारी निर्माण टिमले गरिसकेको छ ।

निर्माता अधिकारीले यसअघि निर्माण गरेका गाजलु, छ माया छपक्कै र फर्की फर्की जस्ता चलचित्रले दर्शकमाझ राम्रो सफलता पाएका थिए ।