‘झिल्को’ले बक्सअफिसमा झिल्को पार्न सक्ला त ?

काठमाडौं । यही शुक्रबार चलचित्र ‘झिल्को’ रिलिज हुँदैछ । ‘झिल्को’को अग्रिम बुकिङ पनि खुला भइसकेको छ ।
निकै न्यून शोसहित यो सिनेमाले आफ्नो प्रदर्शन सुरु गर्नेछ । डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असरबारे संवेदनशील कथामा बनेको छ ।
यादवकुमार भट्टराईले ‘झिल्को’ निर्देशन गरेका छन् । उनले यसअघि निर्देशन गरेको ‘झोला’ लोकप्रिय बनेको थियो । कृतिमा आधारित रहेर बनेको ‘झोला’को हलभन्दा पनि बाहिर चर्चित बनेको थियो ।
न्यून शो बाट सुरु हुने ‘झिल्को’ले हलमा झिल्को पार्न सक्छ कि सक्दैन, त्यो भने शुक्रबारपछि नै टुंगो लाग्नेछ ।
वर्ड अफ माउथ राम्रो पायो भने यो सिनेमाको शो थपिएर राम्रो बिजनेस हुनेछ । पाएन भने बक्सअफिसमा यसले बलियो प्रभाव जमाउन सक्ने छैन ।
स्मार्टफोनको लतले निम्त्याउने पारिवारिक विखण्डन, अभिभावकको बेवास्ता र अभिभावक तथा सन्तानबीच बढ्दो दूरीमा यो चलचित्र केन्द्रत रहेको बताइएको छ ।
अहिले हरेक घरघरले भोगिरहेको विषय भएकाले दर्शकमा रिलेट हुने र परिवार नै सिनेमा हेर्न जाने विषय भने हो । तर, यसको प्रस्तुतिले यसको बिजनेस निर्धारण गर्नेछ । जलचित्र कति राम्रो वा कमजोर बनेको छ भन्ने कुराले यसले आफ्नो स्थान बनाउनेछ ।
चलचित्र ठिकठाक मात्रै बनेको रहेछ भने मात्रै पनि चल्न कठिन हुनेछ । किनकी राम्रो प्रचार र मेहनत गरेका चलचित्र पनि बक्सअफिसमा लगातार असफल भइरहेका छन् ।
आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठको यस चलचित्रमा अभिनय रहेको छ ।
दीपक बज्राचार्यको छायांकन रहेको चलचित्र सम्पादन निमेष श्रेष्ठले गरेका छन् । चलचित्रको कथा तथा पटकथा यादवकुमार भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् ।
‘झिल्को’का कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् ।