आफ्नै चलचित्र ‘झिल्को’प्रति वर्षाले पोखिन् असन्तुष्टि, प्रचारै नगरी सिनेमा लगाउने, अनि आरोप कलाकारलाई लगाउने ?

काठमाडौं । नायिका वर्षा सिवाकोटी अभिनीत चलचित्र ‘झिल्को’ यति बेला हलमा छ । शुक्रबारबाट यो सिनेमा प्रदर्शनमा आएको हो ।

सिनेमा रिलिज भएपछि उनले सबैको सहयोगको र सकारात्मक सोचको आवश्यक रहेको बताएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै चलचित्र चल्न सबैपक्ष मिल्न आवश्यक रहेको बताएकी छन् । चलचित्र राम्रो मात्रै भएर नहुने भन्दै प्रचार पनि चाहिने बताएकी छन् ।

घुमाउरो तरिकाले उनले ‘झिल्को’ टिमलाई चलचित्रको प्रचारमा काम नगरेको भन्दै असन्तुष्टि जनाएकी छन् । यद्यपि उनले प्रष्टसँग भनेकी छैनन् ।

“विगत १० वर्षदेखि अनवरत नेपाली चलचित्रमा आवद्द छु, एउटा कलाकारको नाताले राम्रो कथावस्तुमा काम गर्ने रहर सवैमा हुन्छ । तर कथावस्तु अनि प्रस्तुति मात्र भएर पनि नहुनेरहेछ । सिनेमालाई दर्शकको चासोको विषय बनाउन निर्माण टिमको प्रचार प्रसार र बजार ब्यवस्थापन पनि उत्तिकै जरुरी हुन्छ,” उनको यो स्टाटसले आफ्नै सिनेमाप्रति संकेत गरेको छ । किन भने ‘झिल्को’ निर्माण टिमले आफ्नो सिनेमा पर्याप्त प्रचारबिना हल रिलिज गरेको थियो ।

“सिनेमा तोकिएको समयमा छायांकन अनि पदर्शनले पनि ठूलो अर्थ राख्छ । कलाकारले आफ्नो मेहनत जति नै लगाए पनि अहिलेको जमानामा प्रचार प्रसारबिना कलाकारहरू मात्रैले केही गर्न सक्दैनन,” उनले लेखेकी छन्, “यो बेसिक कुरा हामी सवैले बुझ्न र बुझाउन अत्यन्त जरुरी छ । अनिमात्र चलचित्रमा आवद्द सवैले जस पाँउछन् । सधैँ नकारात्मक आरोप प्रत्यारोपले यो क्षेत्र चलायमान हुन सक्दैन ।”

वर्षाको यो स्टाटसले आफ्नै निर्माण टिम अथवा ‘झिल्को’प्रति संकेत गर्दछ ? हो उनले भनेको ठिक हो । सिनेमा बनाएर मात्रै हुँदैन बेच्न पनि जान्नुपर्छ । नेपाली निर्माताले सिनेमा बेच्न चाहिँ कहिले सिक्ने रहेछ ?