‘महाभोज’को ‘लालुमै’मा निश्चल बस्नेतको स्वर र नृत्य

काठमाडौं । नेपाली चलचित्र ‘महाभोज’को गीत ‘लालुमै’ सार्वजनिक गरिएको छ । निर्देशक तथा अभिनेता समेत रहेका निश्चल बस्नेत र गायिका अस्मिता अधिकारीको आवाजमा रहेको ‘लालुमै’ गीतमा हर्क साउदको शब्द छ ।
कोसिस क्षेत्री र केतन क्षेत्रीको संगीत छ । भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, र स्वयं गायक निश्चल बस्नेतको आकर्षक नृत्य देख्न सकिन्छ ।
कोरियोग्राफर सुनिल क्षेत्रीले गीतलाई रमाइलो र आकर्षक शैलीमा सजाएका छन् । गीतमा मोडल कमल सिंहले मलिका महतसँग बिहे गर्दै गरेको भूमिकामा विशेष उपस्थिति जनाएका छन् ।
जेठ १५ गते रिलिज हुने चलचित्रको भिडियो मलिकाको बिहे समारोहको परिवेशमा आधारित छ । परिवार, साथीभाइ र गाउँलेको रमाइलो माहौल झल्किएको छ ।
‘महाभोज’ निर्देशक दिनेश राउतले निर्देशन गरेका छन् । नेपाली समाजमा विद्यमान वर्ग संघर्ष र पैसाले सिर्जना गर्ने पारिवारिक, सामाजिक तथा नैतिक दबाबको यथार्थ चित्रण गर्ने बताए ।
निश्चलले निर्देशक दिनेश राउतसँगको पुनः सहकार्य उत्साहजनक रहेको बताए । सन् २०१२ मा एकै वर्ष चलचित्र निर्देशन सुरुआत गरेका निश्चल र दिनेशले यसअघि सन् २०१७ मा दिनेश निर्देशित चलचित्र ‘पर्व’मा सहकार्य गरेका थिए । सो चलचित्रको चर्चित गीत ‘काले दाइ’मा निश्चलले स्वर दिएका थिए भने नृत्य समेत गरेका थिए ।
‘महाभोज’मा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपानेलगायत कलाकारहरूको अभिनय छ ।
चलचित्रका निर्माता हिमाल कडरिया हुन् भने कथा तथा पटकथा विकास सुवेदीले तयार पारेका हुन् ।