‘के घर के डेरा : घर नं २’ले के लिएर आउँदै छ ?

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’ले घर र डेराको कथा भन्दै छ । घर नहुनेहरूले घर बनाउन देख्ने सपना र घर हुनेहरूको दुःख यो सिनेमाले भन्दैछ ।
यही कथाको वरिपरि चलचित्र रहेको ट्रेलरले बताइसकेको छ । काठमाडौंको खाल्डोमा पसिसकेपछि कुनै मध्यम बर्गिय परिवारको त्यस्तो व्यक्ति कोही छैन होला जसले यहाँ आफ्नै घर बनाउने सपना नदेखेको होस् ।
घर र डेराबीचको अन्तरले पटकपटक जिन्दगीलाई हिर्काएको पीडाबाट छुटकारा पाउन हरेक व्यक्ति काठमाडौंमा आफ्नै घर होस् भन्ने सपना पाल्छ । र त्यही सपना पूरा गर्न अथक मेहनत गर्छ । जागिर, व्यापार सबै गर्छ ।
पैसाकै पछाडि दौडिदा धाकधम्की, दुई नम्बरी अनेक गर्ने मान्छेसँग भेट हुन्छ । सुरुमा प्रलोभन पछि धम्की र परिवन्ध । यसकै चक्करमा जिन्दगी फसेपछि कसरी बन्छ नयाँ घर, कसरी रहन्छ बनाएको घर ?
यही वास्तविकता छ, ट्रेलरमा । घर हुनेको शान हुने काठमाडौं, नहुनेको हुर्मत लिने काठमाडौं । घर हुनेको इज्जत नहुनेको बेइजत हुने काठमाडौंमा घर बनाउने चक्करमा रहँदा रहँदै थाहै नपाई भुमरीमा फसेका पात्रहरू ट्रेलरमा छन् ।
गाउँबाट काठमाडौं प्रवेश गरेकाहरूको काठमाडौंमा घर बनाउने सपनाको कथा भन्ने सिनेमाको ट्रेलर धेरैमा कनेक्ट गरेको छ । पात्र, परिवेश र संवादले दर्शकको ध्यान खिचेको छ ।
‘के घर के डेरा : घर नं २’को ट्रेलरमा ट्रेलरमा घर र डेराबीच अन्तरसँगै घर मोहले निम्त्याएको समस्या प्रष्ट देखाइएको छ । घर नै सबैथोक हो, प्रतिष्ठाको प्रतीक हो भन्ने अहिलेको यथार्थलाई देखाइएको छ ।
घर जोगाउन र जोड्न युवा पुस्ताले गरेको संघर्ष र त्यसले सिर्जना गरिरहेको नकारात्मक पक्षलाई ट्रेलरले देखाएको छ । घर मोहले बिग्रिएको आर्थिक कारोबार र परिवारलाई ट्रेलरमा प्रष्टसँग देखाउने काम निर्देशकले गरेका छन् ।
‘पशुपतिप्रसाद’, ‘आमा’, ‘चिसो मान्छे’जस्ता सफल सोसल ड्रामामा चलचित्र दिएका निर्देशक खनालको चलचित्र ‘के घर के डेरा : घर नं २’ जेठ २ गतेदेखि प्रदर्शनमा आउँदै छ ।
घर र डेराबीचको फरक बसाइले जीवनमा पारेको प्रभावको कथा भन्नेछ । घर र डेरा कै कारण जतिसुकै उचनिच व्यवाहार भए पनि अन्ततः त्यसको प्रभाव जीवनको अन्त्यमा के पर्छ यसबारे पनि ‘के घर के डेरा : घर नं २’ले भन्ने निर्देशक खनालले बताएका छन् ।
‘के घर के डेरा : घर नं २’को कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो सिनेमा हो ।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा गेन्द्र लामिछाने, आर्यन सिग्देल, निश्चल बस्नेत, खउपासना सिंह ठकुरी, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, सज्जन श्रेष्ठ, गौरव विष्ट, शंकर आचार्य, रुविना घिमिरे (बाल कलाकार) लगायतको अभिनय छ ।
कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।