पूजा जी ! ओरालो लागेको करियर फर्काउने कि झन् ओरालैतिर दौडिने हो ?

काठमाडौं । चलचित्र ‘दान्भी’ रिलिजअगाडि नायिका पूजा शर्माले भनेकी थिइन्– यो एक्सन सिनेमा हो । पहिलोपटक एक्सन सिनेमामा काम गरेको छु । चल्यो भने दर्शकले एक्सनमा पनि रुचाउनु भयो भनेर यसलाई निरन्तरता दिनेछु ।
पूजाले त्यसबेला भनेकी थिइन्, यदि चलेन भने एक्सनमा रुचाउनु भएन भन्ने बुझेर मेरो जनरा अथवा लभस्टोरी सिनेमामा फर्किनेछु ।
‘दान्भी’ चल्यो कि चलेन अथवा व्यापारिक रुपमा सफल भयो कि भएन यहाँ भनिरहनु पर्दैन । ‘दान्भी’ले जम्मा ४७ लाख ग्रसकलेक्सन गरेको थियो । यो सिनेमाको व्यापार उत्साहनक रह्यो कि रहेन त्यो यहाँ भनिरहनु परेन ।
एक्सनका लागि ट्रेनिङ नै लिएकी थिइन्, उनले । पूजालाई एक्सनमा दर्शकले मन पराए कि पराएनन्, त्यो जगजाहेर नै छ ।
पूजा शर्माले आफ्नो प्रोडक्सन हाउसबाट सुदर्शन थापासँग मिलेर एक्सन सिनेमा ‘रावायण’ पनि बनाइन् । यो एक्सन सिनेमा पनि कति रुचाइयो पनि भनिरहनु पर्दैन । किन भने यो त झन् धेरै पहिलाको कुरा होइन ।
तर, फेरि पूजा शर्मा एक्सन सिनेमामा अभिनय गर्ने भएकी छन् । एक्सन सिनेमामा उनी अनुबन्धित पनि भइसकेकी छन् । उनको जन्म दिनको अवसर पारेर यो जानकारी दिइएको छ ।
संयोग भने पनि जे भने पनि पूजा ‘दान्भी’का निर्देशक रुपेश तामाङ नयाँ फिल्ममा देखिने छिन् ।
यसपटक, पूजा मात्रै होइन मल्टिस्टारर कलाकार लिएर एक्सन फिल्म बनाउने उनको तयारी छ ।
फिल्ममा पूजा फाइनल भएपछि रुपेशले भनेका छन्, “मेरो कथाले पूजा शर्मालाई नै खोजेका कारण उहाँलाई साइन गरेका हौँ । यसपटक अघिल्ला फिल्ममा भएका कमजोरीलाई सुधार्दै काम गर्ने कोसिस गर्नेछु ।”
पूजाले पनि फेरि एकपटक आफू एक्सन भूमिकामा देखिन लागेको भन्दै खुसी व्यक्त गरेकी छन् । “दान्भीको एक्सनलाई दर्शकले रुचाउनुभएको थियो । यसैले, मलाई एक्सन फिल्ममा फेरि काम गर्न मन थियो । रुपेशजीले राम्रो कथा लिएर आएपछि साइन गरेकी हुँ ।”
‘दान्भी’को एक्सन चाहिँ दर्शकले कसरी मन पराएछन्, हलमा त पूजाले दाबी गरेजस्तो देखिएको थिएन । विपीन कार्कीले एक्सन सिनेमा गर्दा के भयो देखिरहनु भएकै छ होला । यसबाट पनि सिक्ने कि ? अब सोसल ड्रामामा जमेका दयाहाङ राईले एक्सन हिरो बन्छु भनेर दर्शकले पत्याउँछन् र ?
जुन सुकै जनरामा जो सुकै कलाकारले काम गर्न पाउँछ । काम गर्न सक्नु भेरियसन चाहिन्छ पनि । तर, एक्सनमा सुहाउँदैन वा दर्शकले रुचाएनन् भने चाहिँ त्यसलाई निरन्तरता दिएर करियरलाई ओरालोतिर दौडाउने कि ओरालो लागेको करियरलाई सोचविचार गरेर उकालोतर्फ फर्काउने यो चाहिँ पूजाकै हातमा छ ।
समयमै सही आत्मसमीक्षा नगरे भोलि को हुन् पूजा भन्ने दिन नआओस् । आगे आफ्नै मर्जी ।