अष्ट्रेलियापछि धम्पुसबाट सुरु शोभित बस्नेतको ‘पीआर’

काठमाडौं । निर्देशक शोभित बस्नेतको नयाँ चलचित्र ‘पीआर’को दोस्रो छायांकन सेड्युल कास्कीको धम्पुसबाट सुरु गरिएको छ ।

यो चलचित्रको लगभग ६० प्रतिशत छायांकन अष्ट्रेलियामा सकिएपछि निर्माण टिमले बाँकी भाग नेपालको विभिन्न स्थानमा खिच्ने योजना अनुरूप काम अघि बढाएको हो ।

धम्पुसमा सोमबार खिचिएको एक विवाह दृश्यमा कलाकारहरू दिक्पाल कार्की, नीर शाह, गौरी मल्ल र विनिता कार्कीलाई देख्न सकिन्छ । निर्देशक बस्नेतका अनुसार अब छायांकन पोखरा, चितवन लगायतका स्थानहरूमा पनि गरिनेछ ।

“चलचित्रको कथावस्तु अनुसार नै लोकेशन छनोट गरिएको हो। अहिले धम्पुसमा छायांकन तीव्र गतिमा चलिरहेको छ।”

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भइरहेको ‘पीआर’ मा नीर शाह, गौरी मल्ल, रबिन्द्र खड्का, उत्तम केसी, आर ए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स र नवीन घायल लगायतको अभिनय रहेको छ।

चलचित्रका निर्माता ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा हुन्।

‘पीआर’ मा संगीत मानस राज र भीम बीसीको रहेको छ भने नृत्य निर्देशन रामजी लामिछानेले गरेका छन्। छायांकन सौरभ मानन्धर (अष्ट्रेलिया) र सौरभ लामाले (नेपाल) गरेका छन्।

निर्देशक बस्नेत स्वयंले कथा लेखेका छन् भने पटकथा तथा संवाद गणेश बुढाथोकीले तयार पारेका हुन्। सम्पादन बन्दे प्रसादले गरेका छन्।

मुख्य सहायक निर्देशकमा रामजी राउत, गणेश बुढाथोकी र मणि तामाङ छन् भने निर्माण व्यवस्थापन केवल मान सिंह बस्नेतले सम्हालेका छन्।