फ्राइडे रिलिजमा ‘जार’ र ‘ऊनको स्वीटर’

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज दुईवटा नेपाली चलचित्र रिलिज भएका छन् । फुर्वा छिरिङ लामाको ‘जार’ र नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’ आजबाट रिलिज भएका हुन् ।

‘जार’ १८०० को दशकको वास्तविक घटनामा आधारित यो चलचित्र हो । ‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको सिनेमा हो । ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमालाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका छन् ।

फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा बने पनि कम्प्लिट प्याकेज भएको निर्देशक फुर्वाको दाबी छ । त्यसैले ‘जार’ले दर्शकको मन जित्नेमा उनी ढुक्क छन् ।

चलचित्र ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ ।

होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ ।

चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । सिनेमामा झुमा लिम्बू र गंगा थापाको संगीत छ ।

चलचित्र ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ । यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछ ।

‘ऊनको स्वीटर’मा विपीन कार्की, मिरुना मगर, विल्सनविक्रम राई, परीक्षा लिम्बू, सुनील पोखरेल, एलेक्स पारस, प्रेम सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ ।

आर्टमाण्डू प्रालिको पहिलो फिचर सिनेमा ‘ऊनको स्वीटर’ पूर्वी नेपालको पाँचथर जिल्लामा छायांकन गरिएको सामाजिक कथा हो । निर्देशक नवीन चौहानले सिनेमाको कथा पाँचथरदेखि भारतको वेस्ट बंगालको सीमासम्म फैलिएको बताएका छन् ।

सुजन चापागाईं र झुमा लिम्बूको संगीत र नवीन चौहानको लेखन रहेको सिनेमाले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध र नेपाली समाजका जीवन्त रङ्गहरूलाई एउटै कथामा गाँस्ने प्रयास गरेको छ ।

यो सिनेमालाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गरेका छन् ।