यस्तो छ ‘जार’ चल्नुपर्ने निर्देशक नवीन सुब्बाको तर्क

काठमाडौं । निर्देशक नवीन सुब्बाले चलचित्र ‘जार’ चल्नुपर्ने बताएका छन् । ‘जार’ चल्नुपर्ने आधार पनि उनले प्रस्तुत गरेका छन् ।

साहित्यकार इन्द्रबहादुर राईले नेपाली साहित्यको विकाससँगै नेपालीको चिन्तनको निर्माण र विनिर्माणमा ठूलो भूमिकामा खेलेको उनले बताएका छन् । त्यसैले उनको सम्मान र ट्रिब्युटका लागि पनि चलचित्र ‘जार’ चल्नुपर्ने उनको तर्क छ ।

फूर्वा छिरिङ लामा सिनेमा पढेर र बुझेर आएको मेकर भएकाले उनलाई प्रोत्साहन र उनको काम हेर्न पनि ‘जार’ हेर्नुपर्ने उनले बताएका छन् ।

“मैले यो चलचित्रको केही भिजुअल हेरेको छु, एकदम राम्रो छ । धेरै राम्रा कलाकार छन्,” उनले भने, “मलाई मन परेको कथा हो पढ्दै, त्यसैले यसमा निर्माण भएको चलचित्र भएकाले कस्तो काम भएको छ भनेर पनि यो चलचित्र हेर्नुपर्छ ।

दुई सय वर्षभन्दा पुरानो पिरयडिकल स्टोरी भएकाले त्यो समयको संस्कार, रितिथिति बुझ्न पनि यो चलचित्रले सहयोग गर्नेछ ।

नेपाली भाषी भारतीयको सपोेर्टका लागि पनि ‘जार’ हेर्नुपर्ने उनको भनाइ छ ।

“भारतका नेपाली भाषी हाम्रोबारे अथवा नेपालका घटनाबारे एकएक अपडेट हुनुहुन्छ । तर हामी उताबारे अपडेट हुँदैनौँ । यो गुनासो छ उहाँहरूको,” नवीन भन्छन्, “सिनेमामा पनि नेपालबाट गएका सिनेमालाई उहाँहरूले सहयोग गर्नुहुन्छ ,नेपाली सिनेमा भनर नै स्वीकार गर्नुहुन्छ । तर, उताबाट आएको कथा र चलचित्र हामी स्वीकार गर्दैनौँ जस्तो देखिको छ ।”

त्यसैले उताका सबै प्रतिभा, कथा र आइडियाका लागि पनि सहयोग गर्नुपर्नेमा उनको जोड छ ।

जार’ १८०० को दशकको वास्तविक घटनामा आधारित यो चलचित्र हो । ‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको सिनेमा हो ।

‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमालाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका छन् ।

फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा बने पनि कम्प्लिट प्याकेज भएको निर्देशक फुर्वाको दाबी छ ।

चलचित्र ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ ।

होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ ।

चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । सिनेमामा झुमा लिम्बू र गंगा थापाको संगीत छ ।

चलचित्र ‘जार’ नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गरेको छ ।