फेरि सर्यो ‘नम्बरी सुन’, साउन २५ मा प्रदर्शन हुने
काठमाडौं । फिल्म ‘नम्बरी सुन’ को प्रदर्शन मिति फेरि परिवर्तन गरिएको छ ।
पटक पटक प्रदर्शन मिति तय गर्दै यसअघि भदौ १ गते रिलिज हुने भनिएको फिल्म अब एक साता अगाडि नै प्रदर्शनमा आउने भएको हो ।
निर्माण टिमले फिल्मका प्रमुख कलाकारहरू गौरव पहारी, नम्रता सापकोटा र विनोद न्यौपाने फिचर्ड नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मलाई साउन २५ गते रिलिज गर्न लागिएको जनाएको छ।
राजु गिरीको निर्देशन रहेको यो फिल्ममा नारायण खाती प्रस्तुतकर्ता छन् । गौरव, नम्रता, विनोदसहित सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, गीता अधिकारीलगायतका कलाकारको अभिनय छ ।
सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् । फिल्ममा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको नृत्य निर्देशक, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन छ ।
फिल्मलाई काठमाडौँ उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन् ।
राजु गिरीको निर्देशन रहेको अर्को फिल्म ईश्वर पनि साउनमा प्रदर्शनमा आउँदैछ ।