चलचित्र समाजको अभिन्न अंग बनिसक्यो, बहस चलचित्र साहित्य हो कि होइन भन्नेमा ?

काठमाडौं । चलचित्र सहित्यको बेग्लै विधा भएको भन्दै यो मान्यतालाई स्थापित गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन् । प्राध्यापकदेखि चलचित्रकर्मीले जोड दिएको विषय हो । प्राज्ञिक बहस भन्दै आयोजनना गरिएको कार्यक्रमको एजेन्डा नै यही हो ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुर नेपाली विभागका प्रध्यापक डा. अशोक थापाले चलचित्र साहित्य र नेपाली सन्दर्भ विषयमा कार्यपत्र प्रस्तुत गर्दै चलचित्र कलाको आधुनिक माध्यम भएको बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा ‘चलचित्र साहित्य र नेपाली सन्दर्भ’ विषयमा भएको अन्तरक्रियामा उनले समाज रुपान्तरणका लागि चलचित्रको भूमिका महत्वपूर्ण रहने बताए । त्यसैले यसले प्राथमिकता पाउनुपर्नेमा उनको जोड छ ।

उनले प्राविधिक पक्षले गर्दा चलचित्रले धेरै पक्ष एकै पटक देखाउन सक्ने बताए । पछिल्लो समय चलचित्र समाजको अभिन्न अंग बन्न पुगेको उनले बताए ।

कार्यपत्रमाथि आफ्नो विचार राख्दै कलाकार नीर शाहले चलचित्र मानवीय समवेदनासँग जोडिएको साहित्य भएको बताए । “चलचित्रको मुटु भनेको पटकथा हो । पटकथा चलचित्रको साहित्यको मूल अंश हो,” उनले भने, “विश्व बजारका धेरै प्रसिद्ध चलचित्रहरूको आधार साहित्य नै हो ।”

नेपाली चलचित्रको बारेमा खोज अनुसन्धान नै साह्रै कम भएको उनले बताए । त्यसैले चलचित्रको विकासका लागि अनुसन्धान आवश्यक रहेको उनको धारणा छ ।

“हरिश्चन्द्र नै पहिलो नेपाली चलचित्र हो । भारतीय कलाकार र नेपाली कलाकारहरुले अभिनय गरेको चलचित्रमा भारतीय कलाकारहरुले नेपाली उच्चारण स्पस्ट नभएको हुँदा डविङ गरेको जस्तो हुन पुगेको हो । साहित्य र कला मानव सभ्यताको विकाससँगै जोडिएको कुरा हो,” उनले भने, “अहिलेको अवस्थामा कला र साहित्यलाई यसलाई हेर्ने दृष्टिकोण गलत छ हामीले बदल्न पर्छ भन्दै कला र साहित्यले मान्छेको समवेदनासँग निकट सम्बन्ध राख्छ ।”

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले चलचित्र आफैँमा साहित्य भएको बताए । चलचित्र प्रविधिसहतिको साहित्य भएको उनको भनाइ छ । उनले यस्ता बहस र छलफल आवश्यक रहेको धारणा राखे ।

चलचित्रमा साहित्यका मूलविधाका सबै विधा समेटिएका कारण चलचित्र साहित्य फरक रहेको उनको धारणा छ ।

“आफ्नो कथा आफैँ भन्ने एउटा बलियो आधार बनेको छ, चलचित्र । त्यसैले यसको कथा भन्ने शैली फरक छ,” उनले भने ।

राईले प्रज्ञा प्रतिष्ठानले चलचित्रको बहसमा एउटा माहोल सिर्जन गर्ने प्रयत्न गरेको बताए । “आगामी दिनहरुमा पनि हामी यस्ता कार्यक्रमहरुको आयोजना गर्ने छौँ हाम,” उनले भने ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले चलचित्रसँग भाषा र प्रविधि जोडिएको हुँदा पठन साहित्यभन्दा दृश्य साहित्य अझ प्रभावकारी माध्यम भएको बताए ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले चलचित्र दृश्य साहित्य हो भन्ने कुरा स्थापित गर्न आवश्यक रहेको बताए । “चलचित्र पनि साहित्य हो, एउटा उपन्यासले भन्न नसकेको कुरा एउटा चलचित्रले भन्नसक्छ वा देखाउन सक्छ,” उनले भने, “यसको प्रभावकारिता पनि समाज रुपान्तरणमा छ ।” उनले यस्ता बहस र कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

गीतकार तथा संचारकर्मी भुपेन्द्र खड्काले कार्यपत्रले चलचित्रको इतिहास उजागर गरे पनि चलचित्र साहित्यको नेपाली सन्दर्भसँगको सम्बन्ध प्रस्ट आउन नसकेको बताए । सहित्यका साना साना विधाहरूलाई समेटेर नेपाली चलचित्र अगाडि बढेको उनको भनाइ छ । मौलिक सिनेमा बनाउने कुरा चुनौतिपूर्ण रहेको उनले बताए ।

अहिलेको समय चललचित्र साहित्यको विधा हो कि होइन भनेर बहस गर्ने हो ? विश्वले धेरै पहिला नै यसलाई स्वीकारिसकेको हो । विश्वमा मात्र होइन नेपालमा पनि सफल साहित्यिक कृतिमा सिनेमा बनिसकेका छन् । त्यसो हो भने यो बहसको आवश्यकता र औचित्य के हो ?

अहिले बहस आवश्यक छ, चलचित्रमा लगानी कसरी बढाउने, लगानी कहाँबाट र कसरी जुट्न सक्छ ? राम्रा चलचित्र कसरी बनाउने ? बजार विस्तार कसरी गर्ने भन्नेमा हुनुपर्ने हो ।

ल, एकछिनलाई सिनेमा साहित्य हो कि होइन भनेर गरिएको बहसलाई सार्थक नै मानिदउँ । साहित्य नै हो भनेर राज्यदेखि सबै पक्षले स्वीकार पनि गरे । हुन्छ चाहिँ के ? उपलब्धी के हुन्छ ?

सिनेमालाई राज्यले साहित्य हो भनेर स्वीकार गर्याे भने के हुन्छ ? सरकारले लगानी गर्छ ?

खोई साहित्यमा लगानी गरेको छैन त । प्रज्ञा आफैँ नेपाली साहित्यको सामान्य सोध गर्न पनि बजेट छैन भनिरहेको आजदेखि होइन । प्रज्ञाका पदाधिकारीहरू नै राज्यले साहित्यलाई हेरेन, स्वीकार गरेन भनेर गुनासो गरिरहेका छन् । छटपटाइरहेका छन्, राज्यका उपल्लो निकायलाई गुहार मागिरहेका छन् । त्यसैले छलफल पनि समयको आवश्यकता र औचित्यअनुसार गर्न सकेमात्र त्यसको परिणाम आउँछ । होइन भने भएको बजेट सक्नेबाहेक अर्को उपलब्धी हुँदैन ।

राम्रो नियतले आयोजना गरिएको कार्यक्रम नै किन नहोस्, त्यो सहयोगी सिद्ध हुँदैन । केही समयको ध्वनी प्रदूषण र होटलको ब्यापार बाहेक केही हुँदैन ।