कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्र ‘एक्लो’ प्रदर्शन हुँदै !

काठमाडौं । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७२ औं संस्करण मंगलबारदेखि सुरु हुँदै छ । फ्रान्सको दक्षिणपूर्वी फ्रेन्च रिभिएरा क्षेत्रको कान्स सहरमा १३ देखि २४ मे सम्म महोत्सव आयोजना हुनेछ ।

यसवर्षको कान्समा केही खास आकर्षण हुनेछन् । विश्वचर्चित हलिउड फिल्म ‘मिसन इम्पोसिबल’को अन्तिम श्रृंखला ‘डेड रोकोनिङ’को वर्ल्ड प्रिमियरमा सहभागी हुन टम क्रूज रेडकार्पेटमा सहभागी हुनेछन् ।

महोत्सव फ्रान्सेली कमेडी फिल्म ‘लिभ वान डे’को ओपनिङ सँगै सुरु हुनेछ । फ्रान्सेली अभिनेत्री जुलिएट बिनोचेले मुख्य प्रतिस्पर्धा विधामा जजको भूमिका निर्वाह गर्नेछिन् । अभिनेता रोबर्ट डी निरोले मानार्थ पाम डी’ओर प्राप्त गर्नेछन् ।

कान्स मार्केटमा नेपालबाट ‘एक्लो’ सिनेमा सहभागी हुने भएको छ । प्रतिस्पर्धामा छनोट नभए पनि कान्स फिल्म फेस्टिभल २०२५ का विभिन्न कार्यक्रममा नेपाली फिल्म ‘एक्लो’ सहभागी हुँदैछ ।

‘मार्चे दु फिल्म’ भनिने कान्स मार्केटमा सम्भवतः पहिलोपटक नेपाली सिनेमाले स्टल नै खडा गरेर फिल्मलाई अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट र निर्माताबीच ‘पिचिङ’ गर्न लागेको हो ।

मे १३ देखि २१ सम्म हुने कान्स मार्केटमा ‘एक्लो’का निर्माताहरू रितेश राना, संगीता श्रेष्ठ, भाइराजा थापा, राजु गुरुङ, उत्सव विष्ट कान्स मार्केटमा सहभागी हुनेछन् । चलचित्रकी कोपरेटिभ डिरेक्टर रिश्ता कार्की बजारीकरण प्रमुखको रुपमा सहभागी हुनेछिन् । निर्माताले महंगो पैसा तिरेरै कान्स मार्केटमा स्टल राख्दैछन् ।

स्टलमा नेपालको झण्डा राख्ने तयारी छ । निर्देशक प्रदीप शाही स्वयम प्रोड्युर्स नेटवर्कमा सहभागी हुँदैछन् । उनी तयारीको लागि आइतबार पेरिस पुगेका छन् । “हामीले यसवर्षको कान्समार्फत नेपाल र एक्लोलाई कनेक्ट गर्न खोजेका छौँ,” निर्देशक शाहीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कान्स सुरु हुनुअघि नै फिल्मबारे ७ अन्तर्राष्ट्रिय वितरकले फिल्मबारे रुचि राखेको शाहीले बताए । उनका अनुसार, वेबसाइटमा जानकारी हेरेर ४ अमेरिकी, २ जापानी र एक भारतीय वितरण कम्पनीले प्रस्ताव राखेका छन् ।

कान्स मार्केटमा ‘एक्लो’ले अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट, मेकर र ओटीटीमाझ फिल्म प्रवर्धन गर्नेछ । नेपालको छायांकन गन्तव्यबारे प्रचारप्रसार गर्ने, सम्भावित को–प्रोडक्सनबारे मार्केटमा ‘एक्लो’का निर्माताले पहल गर्नेछन् ।

निर्देशक शाही कान्स प्रोड्युसर्स नेटवर्कमा छनोट भएको खबर यसअघि आइसकेको छ । ‘हामीले नेपाल र एक्लोलाई कनेक्ट गर्न खोजेका छौं । मार्केटमा स्टल राख्न खोजेको पहिलोपटक नेपाली फिल्म हो ।

प्रड्युसर्स नेटवर्कमा आफूले विश्व फिल्म निकायका प्रतिनिधि, निर्मातासँग भेट्नेदेखि लिएर ‘एक्लो’लाई पिच गर्ने आफ्नो तयारी रहेको उनले बताए । “कान्स मार्केट हाम्रो फिल्म एक्लोमा मात्र सीमित हुनेछैन । भविष्यमा हुनसक्ने सहकार्य र को–प्रोडक्सनको कुरा पनि हुन्छ”, उनले भने ।

शाही र ‘एक्लो’का केही कलाकार रेडकार्पेट र कुनै एक चलचित्रको प्रिमियरमा पनि सहभागी हुने तयारीमा छन् । यद्यपि, यसबारे निधो हुन बाँकी छ ।

कान्स मार्केटमा १४० देशका १४,००० भन्दा बढी सहभागी हुने जनाइएको छ । जहाँ, १,५०० फिल्मको प्रदर्शन र ४,००० प्रोजेक्ट पिच हुनेछन् । यो तथ्यांक हेर्दा पनि कान्स मार्केट विश्व फिल्म बजारको लागि महत्वपूर्ण हुने देखिन्छ ।