‘के घर के डेरा : घर नं २’बारे निर्देशक खनाल भन्छन्– इमोस्नल टच भएको सिनेमा हो

काठमाडौं । निर्देशक दीपेन्द्र के खनालले ‘के घर के डेरा स् घर नं २’ इमोस्नल आरोह अबरोहको कथा समेटेको चलचित्र भएको बताएका छन् ।

स्थापित साहित्यकारले लेखेकाले अझ बढी इमोस्नल टच चलचित्रमा रहेको उनको भनाइ छ ।

“ जस्तो खालको चलचित्र दर्शकले मन पराउनु हुन्छ । चलचित्र जस्तो हुनुपर्ने हो त्यस्तै छ । साहित्यिक व्यक्तिको हात, मन र दिमाग परेको छ,” उनले भने, “साहित्यिक व्यक्तिको हात, मन र दिमाग फिल्ममा जहाँ आउँछ त्यसले चलचित्रलाई थप सुन्दर बनाउँछ ।”

‘के घर के डेरा : घर नं २’ दर्शकको दिमागमा लामो समयसम्म बस्ने चलचित्र भएको निर्देशक खनालको भनाइ छ ।

“धेरै सिनेमा हलमा बत्ति बलेर बाहिर निस्किएपछि सकिन्छ । तर यो सिनेमा त्यस्तो छैन,” उनले भने, “यसले घर पुगेपछि पनि दिमागमा रहिरहन्छ । त्यसैले यो मान्छेलाई सोच्न बाध्य बनाइरहने सिनेमा बन्नेछ भन्ने अपेक्षा छ ।”

हसाउने सिन धेरै रहेको उनको भनाइ छ । पात्रहरू आफ्नो यात्रामा निस्किँदा हुने रमाइलो र इमोसन सबै चलचित्रमा रहेको उनले बताए ।

“कति सिनेमा भात खानका लागि गरिन्छ, यो सत्य हो,” निर्देशक खनाल भन्छन्, “हाम्रो अरु कुनै काम छैन । तर, यो सिनेमा म मनदेखि जोडिएको छु । मनदेखि काम गरेको छु, यो मेरो आत्मविश्वास हो ।”

आजबाट प्रदर्शनमा आएको ‘के घर के डेरा : घर नं २’को कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो स्क्रिप्ट हो ।

चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।

कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।