‘ऊनको स्वीटर’को युट्युब ट्रेन्डिङको पहिलो स्थानमा, थपियो शो संख्या

काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’ले दर्शकको उल्लेखनीय साथ पाइरहेको छ । रिलिजको तेस्रो दिन आइतबारसम्म दैनिक तीन सयभन्दा बढी शो चलचित्रले पाएको निर्माणपक्षले बताएको छ ।
वितरक गोविन्द शाहीका अनुसार, तेस्रो दिनको व्यापारमा देखिएको उत्साह र सोमबार बुद्ध जयन्तीको सार्वजनिक बिदालाई ध्यानमा राख्दै देशभरका हलमा शो संख्या थप गरिएको छ ।
चौथो दिन सोमबारका लागि अझ धेरै शो थपिएसँगै चलचित्रको व्यापार अझ आक्रामक हुने अनुमान गरिएको छ ।
यसैबीच, रिलिजको तेस्रो दिन आइतबार चलचित्रको ट्रेलर युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ ।
विपीन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपांगी मगर र सुनील पोखरेलको अभिनय रहेको चलचित्रले रिलिजदेखि नै दर्शकको राम्रो साथ पाएको छ ।
यो चलचित्र नवीन चौहानले लेखन तथा निर्देशन गरेका हुन् ।