‘तोक्मा एप’को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई

काठमाडौं । ‘तक्मे बुढा’को नामले अत्यधिक रुचाइएका चर्चित अभिनेता तथा हास्य कलाकार विल्सन विक्रम राई बहु आयामिक डिजिटल सेवा प्रदायक कम्पनी ‘तोक्मा टेक्नोलोजीज’का ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् ।

सोमबार काठमाडौंको होटेल याक एन्ड यतिमा आयोजित एक समारोहकाबीच अभिनेता राईलाई आफ्नो ‘ब्रान्ड फेस’को रूपमा सार्वजनिक गरेको हो ।

नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यमा सोमबारदेखि नै ‘तोक्मा एप’को औपचारिक रूपमा सेवा सुरु गरेको छ ।

तोक्माले नेपालको डिजिटल सेवा क्षेत्रमा क्रान्ति ल्याउने उद्देश्यसहित राइड–शेयरिङ, केयरगिभिङ, पर्यटन र सुरक्षासम्बन्धी सेवा एकै एपमार्फत प्रदान गर्दछ । साथै, तोक्मा टेक्लोनिजले डिजिटल बिजनेस कार्ड ‘जी कार्ड’ पनि सार्वजनिक गरेको छ ।

ब्रान्ड एम्बासडरको रूपमा नियुक्त भएपछि अभिनेता राईले भने, “मैले सधैँ आफ्ना समर्थकहरूले प्रेमपूर्वक विश्वास गरेका विभिन्न प्लेटफर्मलाई सही सदुपयोग र आम मानिसलाई वास्तविक कुराहरूबारे जानकारी दिन प्रयोग गर्ने गरेको छु । तोक्मा टेक्नोलोजीज एउटा एप मात्र होइन, यो नेपालमा दैनिक जीवनलाई जोड्ने, उत्थान गर्ने र सरल बनाउने एउटा क्रान्ति हो । म यस यात्राको हिस्सा हुन पाउँदा गर्व गर्छु ।”

राईले विदेशी एपहरू पैसा तिर्दै चलाइरहँदा हाम्रो पैसा बाहिर गइरहेको अवस्थामा तोक्मा एपले नेपालको पैसा नेपालमै रहोस्, रोजगारी सिर्जना होस्, देशको अर्थतन्त्र बलियो होस् भन्ने उद्देश्य लिएको बताए ।

तोक्माका सिइओ सागर आङदेम्बेले राईलाई ब्रान्ड एम्बासडरमा स्वागत गर्दै भने, “अभिनेता विल्सन विक्रम राईले तोक्माको भावनालाई मूर्त रूप दिनुहुनेछ भन्ने विश्वास लिएका छौँ । हामी उहाँलाई हाम्रो ‘ब्रान्ड फेस’ र हाम्रो मिसनको आवाजको रूपमा स्वागत गर्न पाउँदा उत्साहित छौँ ।”

आङदेम्बेले तोक्मा नामबारे समेत स्पष्ट पार्दै भने, “तोक्मा हिमालको जीवनशैली जोडिएको नाम हो । यो पदयात्रीहरूको सहाराको रूपमा रहेको एक लठ्ठी हो, यो शक्ति सन्तुलनको प्रतीक हो । तोक्मा एप पनि मानिसको जनजीवन सहज बनाउने सहारा हो । हामीले एउटै एपमा धेरै कुरा समेट्ने प्रयास गरेका छौँ । यसको उद्देश्य भनेको नेपालभित्र र बाहिरका पर्यटकहरूलाई सुरक्षित सेवा प्रदान गर्नु र रोजगारीको सिर्जना गर्नु हो ।”

तोक्मा टेक्नोलोजिजका सह–संस्थापक सन्चमान राईले संसारका धनी देशहरूले साना देशहरूमा प्रविधि बेचिरहेको अवस्थामा आजकल साना साना देशहरूले आफ्नो आवश्यकता अनुसारको आफ्नै प्रविधिमा काम गरिरहेका छन्, त्यसकै एउटा उदाहरण तोक्मा एप रहेको जनाए ।

राईले अहिलेसम्म कागजी बिजनेस कार्ड चलिरहेको अवस्थामा अब ‘जी कार्ड’ले डिजिटल बनाउने र यो कार्ड आवश्यकता अनुसारको परिमार्जन गरी चलाउन सकिने बताए । राईले लगभग ३ वर्ष अनुसन्धान गरेर तोक्मा एप ल्याइएको जनाए ।

विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक घिसिङले यो एप दैनिक जीवनमा एकदमै प्रयोग गर्नुपर्ने रहेको बताए । उनले पर्यटन तथा सहयोग आवश्यकता रहने व्यक्तिहरूलाई यसले सहयोग गर्नुका साथै देशमै रोजगारी सृजना गर्नलाई यसले ठूलो भूमिका खेल्ने बताए ।