‘महाभोज’को नयाँ पोस्टरमा दयाहाङ, आर्यन र खगेन्द्र

काठमाडौं । ‘सत्य कहिल्यै लुक्दैन’ भन्ने नारासहित यही जेठ १५ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘महाभोज’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।
ट्रेलर रिलिजको पूर्वसन्ध्यामा रिलिज गरिएको पोस्टरमा ‘महाभोज’का प्रमुख तीनजना पात्रहरू दयाहाङ राई, आर्यन सिग्देल र खगेन्द्र लामिछाने छन् ।
ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले डिजाइन गरेको पोस्टरले नेपाली समाजमा विद्यमान सामाजिक संघर्षको चित्रण गर्छ । दयाहाङले दौरा–सुरुवाल, ढाका टोपी र माला लगाएका छन् ।
उनको अनुहारमा गम्भीरता र जिम्मेवारीको भाव झल्किन्छ । पोस्टरमा खगेन्द्र केही असन्तुष्ट वा चिन्तित देखिन्छन् । आर्यन अनिश्चय, डर वा असहजताको भावमा देखिन्छन् । यी तीनै पात्रको अनुहारको भावनाले फिल्ममा हुने द्वन्द्व, द्वैधता र संघर्षको संकेत दिन्छ ।
यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन् । उनको यो आठौँ चलचित्र हो । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् ।
चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल र वीरेन्द्र सिंह कुशवाहको अभिनय छ ।