‘ऊनको स्वीटर’काे विदेश यात्रा : मध्यपूर्वदेखि युरोप, अमेरिकासम्म

काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’ देशभित्र र देशबाहिर एकसाथ चर्चा पाइरहेकाे छ । चलचित्रले रिलिजको पहिलो सातामा नेपालमै ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेकाे छ ।
चलचित्र ‘ऊनको स्वीटर’ अहिले संयुक्त राज्य अमेरिकाका ३० भन्दा बढी सहरहरूमा एकै पटक प्रदर्शन भइरहेको छ ।न्युयोर्कदेखि क्यालिफोर्निया, टेक्ससदेखि वासिङ्टन, ओहायोदेखि फ्लोरिडासम्मका विभिन्न सहरहरूमा नेपाली चलचित्र हेर्न पाएका छन् ।
त्यस्तै, अस्ट्रेलियामा पनि चलचित्रले राम्रै साेहरु पाइरहेकाे छ । सिड्नी, मेलबर्न, ब्रिसबेनलगायत सहरहरूमा नेपाली दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको वितरकहरूले जनाएका छन् ।
यस्तै, जापानका प्रमुख सहरहरू जस्तै योकोहामा, ओकिनावा, क्युसु, फुकुओका, कुमामोटो, कुरुमे, कोबे, गिफु, नागोया, ओसाका, टोकियो, चिबा र नरितामा ‘ऊनको स्वीटर’ प्रदर्शन भइरहेको छ । नेपाली समुदाय रहेको अधिकांश जापानी सहरमा चलचित्रले राम्रो प्रतिक्रिया पाइरहेको छ ।
त्यस्तै, दक्षिण कोरियामा पनि मे ११ देखि जुन १ सम्म सियोल, किम्हे, सुवोन, मोक्तो, किम्पो, फुयो, जिन्छान, ओन्याङ ओन्छान र फाजु जस्ता सहरहरूमा शोहरू तय गरिएका छन् ।
युरोपका डेनमार्क, पोर्चुगल, बेल्जियम, साइप्रस, माल्टा जस्ता देशहरूमा पनि मे १८ देखि चलचित्रको प्रदर्शन तय भइसकेको छ । यसबाहेक क्यानडामा पनि चलचित्रको शोहरू सुरु हुने तयारी भइरहेको छ ।
‘ऊनको स्वीटर’मा कलाकार विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ ।
शुक्रवारदेखि चलचित्रको देशव्यापी कलाकार परिचय तथा प्रचार भ्रमण सुरु गरिएको छ । शुक्रवार दिउसो दमौली र साँझ पोखराका दर्शकसँग साक्षात्कार सुरु भएको यो भ्रमण चितवन, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, दमक, धरान, विराटनगर र इटहरीसम्म विस्तार हुनेछ । प्रचार टोलीमा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, एलेक्स पारस र गायक सुजन चापागाईँ सहभागी छन् ।