एकपछि अर्को सिनेमा साइन गर्दै दिव्या

काठमाडौं । नेपाली सिनेमाको पछिल्लो पुस्ताकी नयाँ अनुहारमध्ये एक हुन्, अभिनेत्री दिव्या रायमाझी । चलचित्र ‘एक्टरः टेक वान’बाट अभिनय यात्रा सुरु गरेकी उनको पछिल्लो सिनेमा ‘पिताम्बर’ हो ।

यी दुई चलचित्रपछि दिव्याको व्यस्तता झनै बढेको छ । केही समयअघि ‘माया प्रीति’ मा साइन गरेकी उनले नयाँ चलचित्र ‘राम नाम सत्य’ पनि साइन गरेकी छन् ।

माइकल चन्दको निर्देशनमा तयार हुन लागेको यो चलचित्र नायिका दिव्याले आइतबार लिखित सम्झौता गरेसँगै एक्सन स्टार विराज भट्ट र सुशील श्रेष्ठसँग पहिलोपटक ठूलो पर्दा साझा गर्ने भएकी छन् ।

दिव्या ‘राम नाम सत्य’मा प्रमुख भूमिकामा देखिने निर्माण टिमले जानकारी दिएको छ ।

यस चलचित्रमा अभिनय गर्न तयार भएपछि दिव्याले भनिन्, “फिल्मको कथा अत्यन्तै दमदार लाग्यो । मेरो भूमिका पनि निकै मन पर्यो, त्यसैले म उत्साहित भएर फिल्म साइन गरेकी हुँ ।”

एक्सन, पारिवारिक, प्रेम र सस्पेन्स कथावस्तुमा निर्माण हुने चलचित्रमा विराज र सुशीलसँग स्क्रिन शेयर गर्न पाउनु उत्साहजनक भएको दिव्याको भनाइ छ ।

साउन महिनाबाट छायांकन सुरु हुने तयारी रहेको ‘राम नाम सत्य’मा निर्देशक चन्द स्वयं लेखन छ ।

माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा बन्ने यो चलचित्रका निर्माता उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङ रहेका छन् भने डा. डीआर उपाध्याय र नरेन्द्र शाह कार्यकारी निर्माताका रूपमा रहनेछन् । संगीतमा अर्जुन पोखरेल र बवुल गिरी रहनेछन् । छायांकनको जिम्मा सुशन प्रजापतिले लिने तय भएको छ ।

निर्माण टिमका अनुसार अब केही अन्य कलाकारहरू फाइनल गरेर वर्कशप सुरु गरिनेछ ।