अस्कर कलेजले ‘काठमाण्डु कोरिडोर’ फिल्म बनाउन सघाउने

काठमाडौं । दुई दशक लामो सिनेमा अध्यापनको यात्रामा थुप्रै दक्ष जनशक्ति उत्पादन गरिसकेको अस्कर कलेजले अब कलेजबाट दीक्षित भएर फिल्म बनाउन बाटो खोजिरहेका प्रतिभाशाली र क्षमतावान् विद्यार्थीलाई फिल्म निर्माणमा सघाउने भएको छ ।
कलेजबाट दीक्षित विद्यार्थी र कलेजको सहकार्यमा पहिलोपल्ट निमार्ण हुन लागेको फिल्मको शिर्षक अनावरण गरिएको छ। मंगलबार कलेज परिसरमा भएको कार्यक्रममा फिल्मको नाम ‘काठमाण्डु कोरिडोर’ रहने कुरा सार्वजनिक गरिएको हो ।
मिराज मोसन पिक्चर्सको प्रस्तुति तथा अस्कर कलेज र जुनको पिक्चर्सको सहकार्य रहने ‘काठमाण्डु कोरिडोर’ फिल्मको निर्देशन सुरज कटुवालले गर्नेछन् ।
सर्ट फिल्महरुबाट आफ्नो दक्षता साबित गरिसकेका कटुवाल अस्कर कलेजकै पटकथा लेखन तथा फिल्म निर्देशनमा दीक्षित विद्यार्थी हुन् । उनले हाल चर्चामा रहेको फिल्म ऊनको स्वीटरको पटकथा सहलेखन गरेका हुन् ।
फिल्मको छायांकन जेठको दोस्रो हप्तादेखि सुरू हुने सिनेमेटोग्राफर तथा निर्माता उज्जल बस्ताकोटीले बताए । उनी कान्समा अवार्ड जितेको सर्ट फिल्म लोरी, चिसो एस्ट्रे र पाकिस्तानी फिल्म याज्मिनस् एलिमेन्टजस्ता फिल्मका सिनेमेटोग्राफर हुन् ।
कलेजका प्राध्यापक रामराजा दाहालले सिनेमा पढेका विद्यार्थीलाई कलेज सकेपछि फिल्म निर्माण कहाँ कसरी गर्ने भन्ने ठूलो चिन्ता हुने भएकोले त्यही चिन्ता दूर गर्न कलेजले वर्तमान तथा दीक्षित विद्यार्थीलाई फिल्म निर्माणका लागि सहयोग गर्ने निर्णय लिएको बताए ।