दीपिका कक्कडलाई कलेजोको क्यान्सर

काठमाडाैं । दीपिका कक्कड भारतीय टेलिभिजनको चर्चित अनुहार हुन् । उनलाई ‘ससुराल सिमर का’ धारावाहिकबाट पहिचान मिलेकाे थियाे । उनी फिल्म ‘पल्टन’मा पनि देखिकी थिइन् ।
चर्चित टिभी अभिनेत्री दीपिका कक्कड आजकल आफ्नो जीवनको नराम्रो चरणबाट गुज्रिरहेकी छिन् । उनलाई स्टेज २ को घातक कलेजोको ट्युमर छ, जसको अर्थ उनलाई कलेजोको क्यान्सर छ । दीपिकाका श्रीमान् शोएब इब्राहिमले यसबारे जानकारी दिएका छन् ।
दीपिका कक्कडले पनि आफ्नो स्वास्थ्यको बारेमा आफ्ना फ्यानहरूसँग अपडेट इन्स्टाग्राममा दिएकी छन् । उनले आफूले भोगेका कठिन हप्ताहरूको बारेमा कुरा गरेकी छन् ।
दीपिकाले इन्स्टाग्राममा लेखेकी छिन् , ‘तपाईंहरू सबैलाई थाहा छ, पछिल्ला केही हप्ताहरू हाम्रो लागि धेरै कठिन भएका छन् । माथिल्लो पेटमा अत्यधिक दुखाइ भएर अस्पताल जानु, त्यसपछि कलेजोमा टेनिस बल आकारको ट्युमर भएको थाहा पाउनु र त्यसपछि दोस्रो चरणको क्यान्सर भएको थाहा पाउनु ( यी हाम्रा लागि सबैभन्दा कठिन समयहरू थिए।’
‘म पूर्ण साहस र सकारात्मक सोचका साथ यसको सामना गरिरहेको छु। इन्शाअल्लाह, हामी यसबाट पार पाउनेछौं। मेरो परिवार मसँग छ र तपाईंहरू सबैको माया र प्रार्थनाले मलाई बल दिइरहेको छ। मलाई आफ्नो प्रार्थनामा राख्नुहोस् !’ उनी बिग बोस सिजन १२ का विजेता पनि हुन् ।