कात्तिक १४ गते रिलिज हुँदै ‘परान’

काठमाडौं । उद्योगपति शेखर गोल्छाको लगानीमा निर्माण भएको चलचित्र ‘परान’ले रिलिज डेट लिएको छ । निर्माणपक्षका अनुसार यो सिनेमा कात्तिक १४ गते प्रदर्शन हुनेछ ।

‘परान’लाई चर्चित टेलिभिजन श्रृंखला ‘सक्किगोनि’का लोकप्रिय कलाकार दीपकप्रसाद आचार्य ‘काकु’ले निर्देशन गरेका छन् ।

उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखरले लगानी गर्न लागेको यस चलचित्रको छायांकन धनकुटा र काठमाडौंमा भएको छ ।

बायस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्रले बाबु–छोराको सम्बन्धको संवेदनशील कथा प्रस्तुत गर्नेछ । कलाकार आचार्यले यो सिनेमाबाट निर्देशनमा डेब्यु गरेका छन् । चलचित्रको कथा उनैले नै लेखेका हुन् ।

उद्योगपति शेखरको पनि यो पहिलो सिनेमा निर्माण हो । चलचित्र निर्माणमा उनलाई प्रिज्मा एडभर्टाइजिङका प्रमुख रञ्जीत आचार्यले सघाएका छन् ।

‘परान’को प्रमुख भूमिकामा बरिष्ठ कलाकार नीर शाह छन् । शाहसँगै मदनकृष्ण श्रेष्ठ, सुभाष गजुरेल, पूजा चन्द, अञ्जना बराइली, केकी अधिकारी, प्रविण खतिवडा, महेश त्रिपाठी, बुद्धी तामाङ, यमन श्रेष्ठ, बबिन राई र बाल कलाकार आर्यदीप आचार्य (निर्देशकका कान्छा छोरा) छन् ।

शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्रमा मित्र देव गुरुङको सम्पादन र सुप्रिम पराजुलीको रङ संयोजन रहनेछ ।

निर्देशक आचार्यले ‘परान’ले नेपाली समाजको कथा र संवेदनालाई समेट्ने प्रयास गरेको बताएका छन् ।