‘भाइरल गोर्खे’ नै हरायो त !

काठमाडौं । चलचित्र ‘भाइरल गोर्खे’ पूर्व निर्धारित समयमा रिलिज हुने हो भने यही जेठ ३० गते प्रदर्शनमा आउनुपर्ने हो ।

तर, यो सिनेमा जेठ ३० मा प्रदशर्नमा आउँछ वा आउँदैन चालचुल छैन । किनकी रिलिजको समय आउँनै लाग्दा निर्माणपक्ष चुपचाप बसेको छ ।

हालसम्म यो सिनेमाले केही प्रचार गरेको छैन । त्यसैले यो मितिमा आउने हो वा होइन अत्तोपत्तो छैन ।

डिजिडल युग सुरु भएसँगै सामाजिक सञ्जालको प्रयोग बढेसँगै अनेक हर्कत गरेर चर्चामा आउने प्रचलनलाई यो सिनेमाले उठाएको विषय हो ।

नाम होस्, बदनाम् होस् तर गुमनाम चाहिँ नहोस् भन्ने सिद्धान्त नेपाली समाजमा देखिन्छ । यसैलाई यो सिनेमाले आफ्नो विषयवस्तु बनाएको थियो ।

‘भाइरल गोर्खे’ले टिकटक, फेसबुक र युट्युबमा जसरी हुन्छ भाइरल हुने पछिल्लो ट्रेन्डलाई मुुख्य कथा बनाएको छ ।

निर्देशक निगम श्रेष्ठले निर्देशन गरेको यो सिनेमामा कमेडी र ह्युमर पनि रहेको छ ।

‘भाइरल गोर्खे’मा सौगात मल्ल र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् ।

द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको सिनेमामा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ ।

विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको सिनेमा सह–निर्माता भुवन अधिकारी र निखिल पौडेल हुन् ।

अमर महर्जनको सिनेमाटोग्राफी रहेको सिनेमालाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो ।