‘ऊनको स्वीटर’ टीमले काट्याे चलचित्र सफलतामा दर्शकसँगै केक

काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’ले चौथो हप्तासम्म आइपुग्दा बक्स अफिसमा राम्राे गरिरहेकाे छ । प्रदर्शनको तेस्रो हप्तामा नै १० करोडभन्दा बढी ग्रस कमाइ गरिसकेको यो चलचित्रले दर्शकहरूका मनमा पनि विशेष स्थान बनाएको छ ।
यसै खुसीको अवसरमा चलचित्र युनिटले मंगलबार चलचित्र हेरेका दर्शकहरूमाझ केक काटेर सेलिब्रेसन गरेको छ । सो अवसरमा प्रमुख कलाकार विपिन कार्की, एलेक्स पारस, परीक्षा लिम्बु, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगर, गायक सुजन चापागाईँ, सङ्गीत निर्देशक कोविद बज्र, गीतकार हर्क साउद, छायाकार चिन्तन राजभण्डारी र निर्देशक नवीन चौहान लगायतको उपस्थिति थियो ।
केकमा चलचित्रका पोस्टरहरू र चर्चित गीतहरूको झल्को दिने चित्रहरू राखिएको थियो । निर्देशक नवीन चौहानका अनुसार यो केक काट्ने कार्यक्रम कुनै प्रचारात्मक गतिविधि नभइ दर्शकसँग खुसी साट्ने र धन्यवाद व्यक्त गर्ने प्रयास थियाे । उनले ‘ऊनको स्वीटर’ ले १० करोड क्लबमा प्रवेश गरेपछि गोलाप्रथामार्फत सिनेमा हल छानिएको थियो, जसमा एफक्युब हल परेकोले त्यहीँ कार्यक्रम आयोजना गरिएको हो ।
यो चलचित्र हाल नेपालभरका १०० भन्दा बढी शो तथा अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, युरोप, मध्यपूर्वलगायतका देशहरूमा यसको प्रदर्शन भइरहेको छ । चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतका कलाकारको अभिनय छ ।