फ्राइडे रिलिजमा ‘जन्ते बाख्रो’ र ‘हाउसफुल–५’

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट नेपाली चलचित्र ‘जन्ते बाख्रो’ रिलिज भएको छ । प्रिमियरमा राम्रो प्रतिकृया पाएको सिनेमा आजबाट पदर्शनमा आएको हो ।
सिमोश सुनुवारको निर्देशनमा तयार भएको चलचित्रमा सौगात मल्ल, आसिफ शाह, गरिमा शर्मालगायत कलाकार मुख्य भूमिकामा छन् ।
मुइन इन्टरटेनमेन्टद्वारा निर्मित ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन् । यसमा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन र सुनिल शिवभक्तिको सम्पादन रहेको छ ।
टिफल्क फिल्म्सले वितरण गर्ने यो सिनेमाको डिजिटल अधिकार जी टु वान डिजिटलले प्राप्त गरेको छ ।
आजैबाट ‘हाउसफुल–५’ पनि रिलिज भएको छ । अनौठो के छ भने सिनेमाको दुईवटा भर्सन रिलिज हुँदैछन् । दुईवटा भर्सनको नाम ‘हाउसफुल–५ ए’ र ‘हाउसफुल–५ बी’ राखिएको छ ।
हरेक थिएटरमा यी दुवै भर्सन रिलिज हुनेछन् । दर्शक हलमा जाँदा रेन्डम्ली ‘हाउसफुल–५ ए’ र ‘हाउसफुल–५ बी’ मध्ये जुनसुकै भर्सन रिलिज हुनेछ ।
यी दुईवटा भर्सनमा फरक के छ भने क्लाइमेक्स अर्थात् अन्तिम २० मिनेट फरक–फरक छ । दर्शकलाई आफूले हेरेको भर्सन हेरेपछि अर्को भर्सनको क्लाइमेक्स अर्थात् अन्तिम २० मिनेट कस्तो छ भनेर हेर्न मन लागेको खण्डमा फेरि टिकट काटेर अर्को टिकट हेर्नुपर्नेछ ।
लेखक, निर्माता र निर्देशकले यस्तो किन गरे ? धेरैले पैसा कमाउने रणनीति भनिरहेका छन् । तर निर्माणपक्षले भने नयाँ प्रयोग भनेका छन् । पहिलादेखि नै सोचिरहेको यो प्रयोग अहिले आएर पूरा गरेको बताएका छन् ।
तरूण मनसुखानले निर्देशन गरेको चलचित्रमा अक्षय कुमारसँगै अभिषेक बच्चन, ज्याकलीन फर्नांडिस, रितेश देशमुख, श्रेयस तलपडे, फरदीन खान, चंकी पान्डे, सौन्दर्या शर्मा, जोनी लिवर, निकेतन धीर, डीनो मोरिया, नरगिस फाखरी, चित्रांग्धा सिंह, सोनम बाजवा, रन्जीतलगायत कलाकारको अभिनय छ । चलचित्रमा सञ्जय दत्त र ज्याकी श्राफको पनि महत्वपूर्ण भूमिका छ ।