‘पिताम्बर’को दोस्रो श्रृंखला घोषणा, को-को कलाकार दोहोरिँदैछन् ?

काठमाडौं । चलचित्र ‘पिताम्बर’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । बिहीबार प्रदर्शनको ५१ औँ दिन पुरा गरेको अवसरमा आयोजित विशेष समारोहमा खुसीयाली मनाउँदै निर्माण टिमले यसको दोस्रो भाग बनाउने घोषणा गरेको हो ।
गत वर्ष विसं २०८१ चैत २९ गतेदेखि प्रदर्शनरत चलचित्रको ५१ औँ दिन पुरा भएको अवसर निर्माण पक्षले कलाकार र प्राविधिकलाई सम्मान गर्दै विहिबार ५१ दिन मनाएको थियो ।
‘पिताम्बर’ले काठमाडौंको रञ्जना सिनेप्लेक्स र बिग मुभिजमा ५१ दिन प्रदर्शन सफलतापूर्वक पूरा गरेको छ । चलचित्रले हालसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’ (बक्सअफिस)मा रु चार करोड ५६ लाख (ग्रस) व्यापार गरेको तथ्याङ्क छ ।
उक्त समारोहमा निर्देशक कृषा चौलागाईंले दोस्रो भाग ल्याउने घोषणा गरेकी हुन् । दोस्रो श्रृंखलाको निर्देशन उनैले गर्ने र ‘पिताम्बर’को प्रिक्वेल हुने जनाइएको छ ।
निर्देशक चौलागाईंले ‘पिताम्बर’को रिलिजअघि नै प्रिक्वेलको तयारी थालिएको र झन्डै एक घण्टाको दृश्य खिचिसकिएको बताइन् । उनले भनिन्, “प्रिक्वेलका लागि झन्डै एक घण्टाको फुटेज तयार भइसकेको छ, अब अन्त्यका दृश्यहरू खिच्न बाँकी छन् ।”
“महिला निर्देशक भएर द्वन्द्व विधामा फिल्म निर्माण गरेर यो सफलता पाउनुमा मेरो सम्पूर्ण टिमको सहयोग अपरिहार्य रह्यो । यो फिल्मको सफलताले मलाई राम्रो फिल्म निर्माण गर्ने दायित्व थपिएको बोध भएको छ । आगामी दिनमा पनि दर्शक माँझ स्तरीय फिल्म ल्याउने हाम्रो प्रयास रहनेछ,” निर्देशक चौलागाईंले भनिन् ।
बदलाको कथामा आधारित यो चलचित्रमा प्रदीप खड्का, सौगात मल्ल, दयाहाङ राई, सुरक्षा पन्त, अनुपविक्रम शाही, दिव्य देव, प्रमोद अग्रहरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आर्यन सिग्देललगायतका कलाकारको अभिनय रहेको छ । दोस्रो श्रृंखलामा प्रदीप, सौगात र सुरक्षाको पुनरागमन हुने चर्चा छ ।
‘पिताम्बर २’ मा विशाल चौलागाईं निर्माता रहने छन् भने पुरुषोत्तम प्रधानले छायांकन तथा सह-निर्माताको भूमिका निभाउनेछन् ।