वैदेशिक रोजगारीको कथामा ‘रियाल रिङ्गेट’ साउन १६ गते

काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेशिने नेपाली युवाको सपना, संघर्ष र विछोडको कथामा आधारित चलचित्र ‘रियाल रिङ्गेट’ साउन १६ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

रेबेल फिल्मसले शुक्रबार पोस्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति घोषणा गरेको हो ।

विभोर पोखरेलले निर्देशन गरेको यस चलचित्रका निर्माता गगनलाल प्रधान हुन् । चलचित्रको लेखन प्रदीप भारद्वाजले गरेका हुन् ।

चलचित्रको नाम नेपालीहरू मजदुरी गर्न जाने देशहरू कतार तथा साउदी अरेबियाको करेन्सी ‘रियाल’ र मलेसियाको करेन्सी ‘रिङ्गेट’लाई मिसाएर बनाइएको छ ।

चलचित्रमा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, बिमला गिरीलगायतका कलाकारहरूको अभिनय रहेको छ ।