karsang
Close Me

घरज्वाइँको ‘यानीमाया’मा दयाहाङको मनोभाव र संघर्ष

असार २८ गतेबाट नेपाल र विदेशमा एकसाथ रिलिज हुने फिल्म ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक भएको छ ।

अनिल बुढा मगरको डेव्यु निर्देशनमा निर्माण भएको फिल्मको शनिबार युट्युबमा सार्वजनिक भएको गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर फिचर्ड छन् ।

हर्क साउदको शब्द रचना तथा मनोज थापा मगरको संगीत तथा स्वर रहेको सार्वजनिक गीतमा घरज्वाइँ बस्ने पात्रको मनोभाव र उसले गरेको संघर्षलाई दर्शाइएको छ ।

गीतको रिदममा फिल्मको ब्याग्राउण्ड म्युजिक तयार गरिएको निर्देशकले केहीदिन अगाडी आयोजित फिल्मको ट्रेलर रिलिज कार्यक्रममा बताएका थिए । फिल्मको दृश्यभाषा र क्यारेक्टरको हिँडाइ र बोलाईलाई समेत फिल्मको यही गीतको थिममा नै राखेर प्रस्तुत गरिएको उनको दाबी थियो ।

मगर समुदायमा प्रचलित घरज्वाइँ प्रथामा आधारित भएर बनेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा जनक घर्ती मगरको लगानी छ । फिल्मको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् । फिल्मका गीतमा हर्क साउद र मनोज थापा मगरको शब्द तथा संगीत छ । फिल्ममा कृष्ण भन्डारीको सम्पादन छ ।

फिल्मलाईनेपालमा आरआर फिल्मसले वितरण गर्दैछ भने एमएसएमले अष्ट्रेलियाको विदेश प्रदर्शन अधिकार लिएको छ ।