‘जन्ते बाख्रो’का कलाकार हल पुगे दर्शक भेट्न, दर्शकले कस्तो दिए प्रतिक्रिया ?

काठमाडौं । जेठ २३ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘जन्ते बाख्रो’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । सिनेमाको निर्माण टिम कलाकारसहित शुक्रबार तथा शनिबार दर्शकको राम्रो चाप देखिएको हलमा पुगेर दर्शक प्रतिक्रिया लिएको थियो ।

अभिनेताद्वय सौगात मल्ल, आशिफ शाह र गरिमा शर्माको मुख्य भूमिका रहेको सिनेमाले दर्शकबाट ‘उत्कृष्ट वडअफ माउथ’ पाएको निर्माण टिमले बताएको छ । दर्शकसँग साक्षात्कार गर्न हल पुगेका कलाकारसँग सेल्फी खिच्नको भीड देखिएको छ ।

सिनेमाका हेरेका अधिकांश दर्शकले अभिनेता सौगात मल्ल, आशिफ शाह र गरिमा शर्माको अभिनयको तारिफ गरेका थिए । यस्तै, निर्देशक सिमोस सुनुवारको निर्देशकीय पाटो समेत प्रशंसा गरेका छन् ।

मौलिक तथा पुरानो संस्कृतिलाई समेटेर पूर्ण मनोरञ्जनात्मक नेपाली सिनेमा निर्माण गरेको भन्दै निर्माता सन्तोष गौतमको समेत तारिफ दर्शकले गरेका थिए ।

दर्शक प्रतिक्रियाले उत्साहित बनाएको सिनेमाका मुख्य कलाकार, निर्माता तथा निर्देशकको भनाइ छ । “हामीले सिनेमा राम्रो बनाएको प्रतिक्रिया पाएका छौं । दर्शकले हेरेपछि प्रवाह हुने ‘वर्ड अफ माउथ’ले हाम्रो सिनेमाको राम्रो प्रचार भयो भन्नेमा विश्वस्त छौं,” निर्माता गौतमले भने, “हामीले इमान्दारिताका साथ् विना सम्झौता सिनेमा निर्माण गरेका थियौँ ।”

प्रदीप भारद्वाजको लेखनमा तयार भएको सिनेमामा अभिनेता सौगात मल्लसँगै आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय रहेको छ ।

मुइन इन्टरटेनमेन्टद्वारा निर्मित यो फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । यसमा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन र सुनिल शिवभक्तिको सम्पादन रहेको छ ।