‘महाराजधिराज’मा उषा रजक जोडिएसँगै प्रमुख कलाकारहरुको लाइनअप पूरा

काठमाडौं । परिच्छेद सेनको निर्देशनमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘महाराजधिराज’मा अभिनेत्री उषा रजक अनुबन्धित भएकी छन् ।

चलचित्रको निर्माणपक्षले रजकलाई प्रमुख मध्य एक भूमिकामा सोमवार अनुबन्ध गरेको हो ।

‘महाराजधिराज’मा आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह र पुष्प खड्का यसअघि नै अनुबन्ध भइसकेका छन् । नायिकामा वर्षा राउत र वर्षा शिवाकोटी फाइनल भएका छन् ।

पुराना र नयाँ पुस्ताका कलाकारहरूको मिश्रण देखाउन ‘महाराजधिराज’ टिमले स्टारकास्टलाई अनुबन्ध गर्दै आएको छ । चलचित्रमा जयकिशन बस्नेत गजित विष्ट र आशा पौडेल पनि यसअघि नै जोडिएका छन् ।

‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्टले अभिनेत्री रजकलाई अनुबन्धि गरेसँगै चलचित्रका प्रमुख कलाकारहरुको लाइनअप पूरा भएको जानकारी दिए ।

उनले भने, ”एक तहसम्म हामीले अभिनयका हिसाबले चर्चित अनुराहरुलाई छनौट गरेका छौँ । हामीले सोचे अनुरूप नै कलाकारको बलियो लानअप बनेको छ । अब केही सहायक भूमिकालागि कलाकार चयन गर्न बाँकी छ, सम्भव त हामी पूर्णरूपमा बलियो टिम बनेका छौँ ।”

अन्य कलकार, प्राविधिक तथा छायाकंन मितिबारे चाडै नै पूर्ण जानकारी दिइने बिष्टले बताए ।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ । उनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो ।

‘महाराजधिराज’का निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का हुन् ।

 ‘महाराजधिराज’ आगामी फूलपातीमा देशभर प्रदर्शनमा आउने तयारीमा छ ।