‘मोहर’को टिजरमा ‘देउकी’ प्रथा, पल दोहोरो भूमिकामा

काठमाडौं । चलचित्र ‘मोहर’को टिजर सार्वजनिक भएको छ । साउनको २३ गतेबाट रिलिजमा आउन लागेको सिनेमाको निर्माणपक्षले मंगलवार १ मिनेट १८ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो ।

यो चलचित्रले देउकी प्रथाको कथा भन्ने संकेत गरेको छ । जसमा देवीदेवताको सेवा गर्न कन्या केटी चढाउने सामाजिक कुरितीविरुद्धको सन्देश यसमा छ । यसरी चढाइएकी कन्या देउकी हुन् भन्ने अन्धविश्वास प्रचलन छ ।

टिजरमा पलसँगै बेनिशा हमाल, बाल कलाकार सारा शर्मा, नीति शाहलगायत कलाकार छन् । टिजर हेर्दा मुख्य पात्र पल शाह दोहोरो भूमिकामा रहेको बुझन सकिन्छ ।

लामो र छोटो कपालमा देखिएका पलको कथा नायिका बेनिशा हमाल र बाल–कलाकार सारा शर्मासँग जोडिएको छ । यस्तै, छोटो कपाल पालेका पलको कथा नायिका नीति शाहसँग जोडिएको छ । यसले, चलचित्रप्रति दर्शकको कौतुहलता बढाउने पक्का छ ।

ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको ‘मोहर’मा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशिल देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा र बाल–कलाकार सारा शर्माको मुख्य भूमिका छ ।

फिल्म मेकर्स प्रा.लिको प्रस्तुतिमा तयार भएको ‘मोहर’का निर्माता चुम्बन जंग शाही हुन् । रोशन जंग शाही चलचित्रका लाइन प्रोड्यूसर रहेका छन् ।

कुमार महर्जनको एक्सन रहेको चलचित्रमा कविराज गतहराज र रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाको भीएफएक्स, सत्यम रानाको सीजीआई, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत, भूपेन्द्र अधिकारीको सम्पादन, दिपेन बस्न्यातको डीओपी छ ।

चलचित्रको टिजर साहिल खानले तयार पारेका हुन् । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको सिनेमाको प्रोडक्सन म्यानेजर लक्ष्मणराज पौडेल हुन् ।