किन रोकियो शाहरूख-सलमानको संयुक्त प्रोजेक्ट ‘टाइगर भर्सेज पठान

काठमाडौं । यशराज फिल्म्सको महत्वाकांक्षी क्रसओभर प्रोजेक्ट ‘टाइगर भर्सेज पठान’ हाललाई स्थगित गरिएको छ ।

यो फिल्मले लामो समयपछि बलिउडका दुई सुपरस्टारहरू सलमान खान र शाहरुख खानलाई एउटै पर्दामा, त्यो पनि प्रमुख भूमिकामा, प्रस्तुत गर्ने अपेक्षा गरिएको थियो ।

पिंकभिल्लाको रिपोर्ट अनुसार यशराज फिल्म्सका प्रमुख आदित्य चोपडाले आफ्ना जासूसी फिल्महरूको ब्रह्माण्डलाई नयाँ दिशा दिने रणनीति तयार पारिरहेका छन् ।

उनी हाल ‘स्पाइ युनिभर्स’लाई अझ सुदृढ बनाउने योजना बनाइरहेका छन्, जसअनुसार विभिन्न पात्र र फिल्महरूलाई रणनीतिक ढंगले एकै लहरमा जोड्न खोजिँदैछ । यही कारणले गर्दा ‘टाइगर भर्सेज पठान’ को विकास कार्यलाई हालको लागि रोकिएको बताइएको छ ।

पूर्व योजनाअनुसार फिल्मको सुटिङ २०२६ को अन्त्यतिर सुरु हुने भनिएको थियो ।

यसैबीच, यशराज फिल्म्सले अन्य ठूला प्रोजेक्टहरूमा ध्यान केन्द्रित गरिरहेको छ। ऋतिक रोशन र जूनियर एनटीआर अभिनीत ‘वार २’ २०७८ साउन २९ गते (१४ अगस्ट २०२५) मा प्रदर्शन हुँदैछ । त्यसपछि आलिया भट्ट अभिनीत ‘अल्फा’ पनि यो वर्षको डिसेम्बरमा रिलिज हुने तय भएको छ ।

त्यस्तै, शाहरुख खानको ‘पठान २’ पनि यो वर्षको अन्त्यतिर फ्लोरमा जाने अपेक्षा गरिएको थियो, तर अहिलेका लागि त्यसको काम पनि रोकिएको छ ।

रिपोर्टहरूका अनुसार यशराज फिल्म्सले अहिले ‘धूम ४’ लाई मुख्य प्राथमिकता दिएको छ । यस फिल्ममा रणबीर कपूर मुख्य भूमिकामा रहनेछन् भने अयान मुखर्जी निर्देशनमा रहनेछन् । फिल्म २०२६ को गर्मीमा छायांकनमा जाने र २०२७ मा प्रदर्शन गरिने योजना बनाइएको छ ।