दश वर्षपछि अरुणिमा लम्सालको कमब्याक वेब सिरिजमार्फत ?
२५ असार २०८१, सोमबार
काठमाडौं । अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा फर्कने प्रयासमा छिन् । उनले हालै मात्र ‘घर बट इन अमेरिका’ शीर्षकको वेब सिरिज छायांकन थालेकी छन् ।
यो सिरिजको छायांकन अमेरिकामा नै भइरहेको छ । सन् २०१५ देखि अमेरिकामा रहेकी उनले पछिल्लो चलचित्र ‘पिपल’मा अभिनय गरेकी थिइन् । त्यसयता अभिनयमा उनको ब्रेक लागेको थियो ।
यो सिरिजलाई बिमलेश अधिकारीले निर्देशन गरिरहेका छन् । यसमा बिमलेश आफैँले पनि प्रमुख भूमिकामा अभिनय गरेका छन् ।
सिचुएशनल कमेडी ड्रामा विधामा बन्ने यो सिरिजको सम्पूर्ण छायांकन अमेरिकामा नै हुने निर्देशक अधिकारीले बताए ।
विवेक चम्लागाईंले लेखेको यो सिरिजमा गोप्य रूपमा लिभ इन रिलेशनसिपमा रहेकी छोरी र नेपालबाट पहिलो अमेरिकी भ्रमणमा पुगेका आमाबुवाको वरपरको कथा रहेको छ ।