‘यो मन त मेरो नेपाली हो’ अमेरिकाका विभिन्न शहरमा विशेष प्रदर्शन, दर्शकबाट प्रशंसा

काठमाडौं । चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ले प्रदर्शन अगावै अमेरिकामा गरिएको विशेष शोमार्फत चर्चा बटुलेको छ । असार २७ गतेबाट प्रदर्शन हुन लागेको यस चलचित्रको अमेरिका स्थित कोलम्बस, हर्रिसबर्ग र पिट्सबर्ग जस्ता प्रमुख शहरहरूमा विशेष शो गरिएको थियो ।
पिट्सबर्गमा सोमबार राति आयोजित विशेष शोमा सहभागी दर्शकहरूले चलचित्रप्रति गहिरो रुचि र भावनात्मक जुडाव देखाएका छन् । उनीहरूले नेपाली भाषा, संस्कृति, र पहिचानलाई जीवन्त रुपमा प्रस्तुत गरिएको भन्दै चलचित्रको खुलेर प्रशंसा गरेका छन् ।
चलचित्रले प्रवासमा रहेका नेपालीहरूमा हराउँदै गएको भाषा र संस्कृतिप्रतिको चेतना जगाएको सिनेमा हेरकाहरुको भनाइ छ । नेपाली भाषा र पहिचानको महत्त्वलाई उजागर गर्न सफल भएको भन्दै उनीहरुले ‘यो मन त मेरो नेपाली हो’ हरेक नेपाली भाषीले हेर्नैपर्ने बताएका छन् ।
मित्र प्रधान (नर) निर्देशित यस चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘ह्याट’, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’, सुबास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजबंशी, भानुभक्त सिटौलालगायत कलाकारहरूको अभिनय रहेको छ ।
‘ईश्वर इन्टरटेन्मेन्ट प्रालि’ को ब्यानरमा बनेको चलचित्रमा मित्र प्रधान प्रस्तुतकर्ता छन् भने ज्ञानबहादुर प्रधान (रोशन) निर्माता हुन्। चलचित्रको कथा शिवम् अधिकारीले लेखेका हुन् ।
चलचित्रमा सौरभ लामाको छायांकन छ भने द्वन्द्व निर्देशन देव महर्जनको रहेको छ । भिएफएक्स समिर मिया, सम्पादन बनिश शाह, सीजीआई सत्यम राना र नृत्य निर्देशन कविराज गहतराज तथा प्रमोद भण्डारीले गरेका छन् ।
चलचित्रमा दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्याङ राईको संगीत रहेको छ । गीतमा दीपक शर्मा, विल्सन विक्रम राई, शंकर अधिकारी घायल र खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ ।
नेपाली कला, साहित्य, भाषा र पहिचानलाई मूल विषय बनाएको ‘यो मन त मेरो नेपाली हो’ ले प्रवासी नेपालीबीच गहिरो प्रभाव छोड्दै प्रदर्शनपूर्व नै उत्साहजनक चर्चा बटुल्न सफल भएसँगै निर्माण टिम निकै आशावादी देखिएको छ ।