दुई सिनेमा एउटै मितिमा भिड्ने भएपछि बेनिशालाई तनाव !

काठमाडौं । अभिनेत्री बेनिशा हमाल अहिले निकै व्यस्त नायिकाका रूपमा देखिएकी छन् । पछिल्लो समय उनले एकपछि अर्को गर्दै चलचित्रमा काम गरिरहेकी छन् ।

गत वर्ष मात्रै अभिनेत्री हमालले चार सिनेमा ‘सिटामोल’, ‘कल्ली’, ‘मोहर’ र ‘एक्लो’को छायांकन सम्पन्न गरिन् भने हालै मात्र उनले ‘बिगुल’को छायांकन सकाएर नयाँ चलचित्र ‘द ब्ल्यू लाइट’को काममा जुटेकी छन् ।

यतिबेला उनको सिनेमा लाइनअप पनि बाक्लो छ । तर, उनको व्यस्तता बढेसँगै समय तालिका मिलाउन मुस्किल पर्न थालेको छ । एकै दिन आफू मुख्य भूमिकामा रहेको चलचित्र रिलिज हुँदा अभिनेत्री हमाललाई भने पब्लिसिटीमा समस्या पर्ने देखिन्छ । उनका पहिलो पटक दुई सिनेमा भिड्न लागेका हुन् ।

गएका वर्षमा अभिनेता अभिनेता दयाहाङ राईका सिनेमाहरु एकैदिन रिलिज भएजस्तै बेनिशाकालागि पनि एउटै मितिमा चलचित्रहरू प्रदर्शन हुने अवस्था आएको छ । साउन २३ गते उनका दुई सिनेमा ‘सिटामोल’ र ‘मोहर’ एकै साथ देशभरका हलमा प्रदर्शनमा आउने भएका छन् । यसरी पहिलो पटक उनका दुई चलचित्र आपसमा भिड्न लागेका छन्, जसले उनलाई प्रचारप्रसारको सन्दर्भमा तनाव दिएको छ ।

सोमबार चलचित्र ‘सिटामोल’को गीत सार्वजनिक कार्यक्रममा सहभागी भएकी बेनिशालाई दुबै सिनेमा एउटै मितिमा रिलिज हुनुको प्रभावबारे प्रश्न गरियो । जवाफमा उनले आफूले यी सिनेमाका निर्माता तथा निर्देशकहरूसँग मिति नजुधाउन आग्रह गरेको तर सम्भव नभएको बताइन् ।

‘दुई चलचित्र एकसाथ नआएको भए राम्रो हुन्थ्यो भन्ने लाग्छ,’ उनले भनिन्, ‘मैले मेकरहरूसँग कुरा गरेको थिएँ तर उनीहरूका आफ्नै योजना र कारण हुन्छन् । रिलिज मिति तय गर्ने अधिकार कलाकारको हातमा हुँदैन । त्यो निर्माता र वितरकको निर्णय हो ।’

बेनिशाले दुवै चलचित्रमा आफूले मेहनत गरेर काम गरेको उल्लेख गर्दै दुबैलाई समान प्रचार गर्न प्रयास गर्ने बताइन् । तर, एकै मितिमा प्रचारका लागि समय व्यवस्थापन गर्न गाह्रो हुने चिन्ता पनि व्यक्त गरिन् ।

‘सकेसम्म प्रचारमा सन्तुलन मिलाउने प्रयास गर्छु,’ उनले भनिन्, ‘तर, दुई सिनेमालाई समान समय दिन सकिन्छ कि सकिँदैन भन्ने विषयमा अलि डर लागेको छ । तर, एकै दिन दुइवटा सिनेमा प्रदर्शनमा ल्याएर आफूलाई अफ्ठ्यारोमा नपार्न र पब्लिसिटीको विषयलाई लिएर आफूसँग रिसाउन पाइँदैन भनेर आफूले भनिसकेको उनले स्पष्ट छु ।’