अनमोलको जोडीमा प्रिन्सी फाइनल

काठमाडौं । निर्माता तथा अभिनेता भुवन केसीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘बाटुलो जुन’मा मोडल प्रिन्सी खतिवडा फाइनल भएकी छन् ।

अनमोल केसी मुख्य भूमिकामा रहने यस चलचित्रमा मंगलवार आर्टखरले प्रिन्सी र प्रिज्मा खतिवडामध्ये एकले काम गर्ने कुरा चलिरहेको समाचार प्रकाशित गरेको थियो ।

अनमोलसँग कसले स्क्रिन सेयर गर्दैछ अथवा कसले अनस्क्रिन रोमान्स गर्दैछ भन्ने बारेमा निर्माण युनिटले कुनै सूचना चुहाएको थिएन ।

करिब १५ जनाले अडिसन दिएकोमा प्रिन्सी छनोट भएको निर्माणपक्षले जनाएको छ । केही दिन अगाडि प्रिन्सीसँग कागजी सम्झौता समेत गरिसकेको छ ।

‘बाटुलो जुन’मा प्रिन्सीको भूमिका के हुने हो भन्ने केही पनि खुलाइएको छैन । ७० वटाभन्दा धेरै नेपाली गीत, आठवटा हिन्दी गीतको भिडियो र हिन्दी चलचित्र ‘सपना’मा अभिनय गरिसकेकी उनको यो पहिलो नेपाली सिनेमा हो । 

सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुने ‘बाटुलो जुन’मा अर्की एक नायिका पनि रहने बताइएको छ । तर, अर्की एक नायिकाको छनोट हुन बाँकी रहेको बुझिएको छ । 

प्रमोद प्रधानले छायांकन गर्ने ‘बाटुलो जुन’को केही सिन अर्को हप्ताबाट छायांकन हुँदै छ । मनसुन अथवा पानी परेको सिन सिनेमामा रहेका कारण अबको एक सातामा एक हप्ता यो सिनेमाको छायांकन हुनेछ । यो चलचित्रको बाँकी छायाकंन अनमोल अर्को प्रोजेक्ट ‘जेरी अनटप’को गीत छायांकन सकिएपछि भदौमा हुनेछ ।

‘बाटुलो जुन’ले नेपाली ग्रामीण समाजको कथा भन्नेछ । गाउँको सेटअपमा यो सिनेमाले कथा भन्नेछ । तर, पूरै गाउँलेको भूमिकामा भने अनमोल देखिने छैनन् । 

चलचित्रको नाम निर्देशक केसीले संगीतकार एसडी योगीको गीत ‘बाटुलो जुन’बाट प्रेरणा लिएर राखेको बताइएको छ । भुवनले चलचित्र ‘ड्रिम्स’पछि निर्देशन गर्न लागेको यो दोस्रो सिनेमा हो ।

जिया केसीले निर्माण गर्ने ‘बाटुलो जून’ चलचित्र विकास बोर्डमा दर्ता गर्दा बजेट २५ लाख उल्लेख गरिएको छ ।