‘महाभोज’ले सहकारीको विषयमा फेरि संसद्मा बोल्न बाध्य बनायो : ज्ञानेन्द्र शाही

काठमाडौं । हाल प्रदर्शनरत नेपाली चलचित्र ‘महाभोज’ले सहकारी क्षेत्रमा भइरहेको ठगी र दुरुपयोगको यथार्थ चित्रण गरेको भन्दै प्रतिनिधि भा सदस्य ज्ञानेन्द्र शाहीले यस विषयलाई संसदमा पुनः उठाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

उनले मंगलबार साँझ काठमाडौंको सुनधारास्थित क्युएफएक्स सिनेमा हलमा चलचित्र हेरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

शाहीले ‘महाभोज’ले कुनै व्यक्तिलाई लक्षित नगरी सहकारीमा कसरी ठगी हुन्छ भन्ने समग्र पक्षलाई उजागर गरेको बताए । उनले सहकारीको स्थापना राम्रो उद्देश्यका लागि भए पनि त्यसको दुरुपयोग भइरहेको यथार्थ चलचित्रमा देखाइएको उल्लेख गरे ।

‘निर्देशकले जोखिम मोलेर यो कथा उठाउने हिम्मत गर्नुभएको छ, अब यसले हामीलाई फेरि पनि संसदमा बोल्न बाध्य बनाएको छ’ शाहीले भने ।

उनले यसअघि पनि संसदीय समिति गठन गरी केहीलाई मात्र नभई सबैलाई छानबिन गर्नुपर्ने माग गरिएकाले यो देशैभरिको समस्या भएको दोहोर्‍याए । शाहीको भनाइ छ, ‘कि त ऐन ल्याउनुपर्‍यो, कि त छानबिन हुनुपर्‍यो । अब फेरी संसदमा आवाज उठ्नेछ ।’

शुक्रवार रिलिज भएको ‘महाभोज’ले दर्शकहरूबाट अभूतपूर्व सकारात्मक प्रतिक्रिया पाइरहेको छ । चलचित्र हेरेर हलबाट निस्कने दर्शकहरू प्रसन्न मुद्रामा देखिनुका साथै यसलाई ‘हेर्नै पर्ने’ चलचित्रको संज्ञा दिएका छन् ।

सहकारी ठगीजस्तो संवेदनशील सामाजिक यथार्थ र मानवीय संवेदनशीलतालाई गहिराइमा चित्रण गरेको भन्दै दर्शकहरूले यसको प्रशंसा गरेका छन् । समीक्षकहरूले पनि यसको पटकथा, निर्देशन र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरेका छन् ।