धनुषले सडकमा भिख मागे, तर किन ?

काठमाडौं । दक्षिण भारतीय सिनेमा उद्योगका दिग्गज अभिनेता धनुष जब ठूलो पर्दामा आउँछन्, उनले आफ्नो अभिनयले दर्शकको मन जित्छन् । उनी हरेक पात्रलाई अब्बल तरिकाले निभाउने अभिनेताका रूपमा परिचित छन् ।

‘कुबेर’ चलचित्रप्रतिको अभिनेताको समर्पण पनि गज्जब देखिएको छ । यी अभिनेताले यो चलचित्रका लागि के गरेका छन् भन्ने थाहा पाउँदा जो कोही छक्क पर्छ ।

क्राइम थ्रिलर सिनेमा ‘कुबेर’ गत वर्ष निर्माणको घोषणा गरिएको थियो । त्यसबेलादेखि नै दर्शकहरू यो सिनेमाप्रति उत्सुकत थिए ।

अन्ततः आज अर्थात् जुन २० मा यो सिनेमा रिलिज भएको छ ।

अहिले यी अभिनेताको एउटा अभिव्यक्ति भाइरल भइरहेको छ । जसमा उनले भिक्षा (भिख) माग्ने कथा सुनाएका छन् ।

शेखर समुला निर्देशित चलचित्र ‘कुबेर’मा धनुषले भिखारीको भूमिका निर्वाह गरेका छन् । अनस्क्रिन पात्रको लागि धनुषले साँच्चै तिरुपतिको सडकमा भिक्षा मागेको थाहा पाउँदा धेरै दर्शक यतिबेला छक्क परिरहेका छन् ।

“निर्देशकको नाम र प्रतिष्ठामा विश्वास गर्दै म तुरुन्तै फिल्मको लागि राजी भएँ । तर अन्ततः उनले मलाई तिरुपतिको सडकमा भिख माग्न बाध्य पारे । कुबेर मेरो ५१ औँ तमिल फिल्म हो र सर (वाथी) पछिको मेरो दोस्रो तेलुगु फिल्म हो,” कुबेरको रिलिज पूर्व कार्यक्रममा धनुषले भनेका छन्, “वास्तवमा, शेखर सरले मलाई सर (वाथी) भन्दा पहिले नै कुबेरको स्क्रिप्ट पठाइसक्नु भएको थियो ।”

शुक्रबार सिनेमाघरहरूमा रिलिज भएको ‘कुबेर’मा धनुष, नागार्जुन, रश्मिका मन्दन्ना र जिम सर्भको मुख्य भूमिका छ । तेलुगु र तमिलमा एकैसाथ छायांकन गरिएको यो कथाले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ ।

यो सिनेमा पैसा, शक्ति र नैतिकताबीचको लडाईंको वरिपरि घुमेको छ ।