‘यो मन त मेरो नेपाली हो’का लागि अमेरिकाबाट नेपाल आइपुगे निर्देशक र नायिका

काठमाडौं । चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को प्रचारप्रसारका लागि निर्देशक मित्र प्रधान र नायिका आयुषा समाल नेपाल आइपुगेका छन् ।
अमेरिका निवासी प्रधान र समाल आउँदो असार २७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रको रिलिजलाई विशेष महत्व दिँदै नेपाल आएका हुन् ।
शनिबार बिहान अमेरिका हुँदै काठमाडौं ओर्लिएका निर्देशक प्रधान र समाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अभिनेता रोशन श्रेष्ठले स्वागत गरेका थिए ।
चलचित्रका निर्देशक मित्र प्रधानले अमेरिकाका विभिन्न शहरहरूमा गरिएको प्रदर्शनबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको जनाउँदै अब नेपालमा पनि दर्शकको साथ र मायाको अपेक्षा व्यक्त गरे । उनले भने, “नेपाली भाषा, साहित्य, कला र संस्कृतिको गौरवलाई समेटेर निर्माण गरिएको यो चलचित्र प्रत्येक नेपालीले हेर्नु जरुरी छ ।”
‘यो मन त मेरो नेपाली हो’ मा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन (मन्त्री), सुभास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजबंशी र भानुभक्त सिटौलालगायतको अभिनय रहेको छ ।
ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा बनेको चलचित्रको प्रस्तुतकर्ता मित्र प्रधान हुन् भने निर्माता ज्ञानबहादुर प्रधान (रोशन) रहेका छन् ।
शिवम् अधिकारीको लेखन रहेको चलचित्रमा सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, समिर मियाको भिएफएक्स तथा बनिश शाहको सम्पादन, प्रमोद भण्डारी र कविराज गहतराजको कोरियोग्राफी, सत्यम रानाको सिजिआइ (भिएफएक्स) रहेको छ ।
दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्याङ राईको संगीत रहेको चलचित्रका गीतमा दिपक शर्मा, विल्सन विक्रम राई, शंकर अधिकारी ‘घायल’को स्वर रहेको छ । खैजडी गीतका लागि अनिश अधिकारीको शब्द समावेश गरिएको छ ।
चलचित्र ‘यो मन त मेरो नेपाली हो’ नेपालीपनको गौरव बोकेको कथासँगै मनोरञ्जन र सन्देश दिन सक्षम हुने अपेक्षा गरिएको छ ।