‘फर्की फर्की’मा आफ्नो नम्बर राखेपछि मानसिक तनाव भएको भन्दै अनमोल र टिमविरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौं । गत वर्षको जेठ १० गते प्रदर्शनमा आएको नेपाली चलचित्र ‘फर्की फर्की’ र यसका मुख्य पात्र अभिनेता अनमोल केसीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले चलचित्र ‘फर्की फर्की’मा आफ्नो व्यक्तिगत मोबाइल नम्बर बिना अनुमति प्रयोग गरिएको भन्दै मुद्दा दायर गरेका हुन् ।

उक्त चलचित्रमा आफ्नो फोन नम्बर दुरुपयोग गरिएको र यसले आफूलाई मानसिक र शारिरिकरुपमा हानी पुगेको उनले दायर गरेको रिटमा उल्लेख छ ।  

‘फर्की फर्की फिल्म रिलिज भए पश्चात उक्त संवादमा उल्लेखित मेरो फोन नम्बर अनमोल केसीसँग बोल्न चाहने व्यक्तिहरूले बारम्बार फोन गर्ने कार्यले मेरो व्यक्तिगत फोन नम्बर नै मैले स्वीच अफ गरी बस्नु परेको छ । एकैछिन फोन अन गरी बस्यो कि कुनै न कुनै ठाउँबाट, कुनै न कुनै व्यक्तिले अनमोल केसीको सम्पर्क नम्बर भन्ठानी फोन गरिहाल्छ’ रिट निवेदनमा भनिएको छ । साथै, यसबारे चलचित्र नियामक निकायलाई पटकपटक पत्र पठाएर जानकारी गराए पनि सुनुवाइ नभएपछि कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ ।

श्रेष्ठले उक्त मुद्दामा अभिनेता अनमोल केसी, निर्देशक सुयोग गुरुङ, निर्माता रोहित अधिकारी र केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड)लाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका छन् ।

चलचित्रको एक दृश्यमा अभिनेता अनमोल केसीले अभिनेत्री जसितालाई मोबाइल नम्बर दिने क्रममा जुन नम्बर प्रयोग गरिएको थियो, त्यो नम्बर श्रेष्ठको निस्किएपछि उनले कानुनी प्रक्रियाको सहारा लिएका हुन् ।

श्रेष्ठले उक्त नम्बर अझै पनि एमएसएम ओटीटी प्लेटफर्मबाट नहटाइएको दाबी गर्दै आफू मानसिक र शारीरिक रूपमा क्षतिग्रस्त भएको बताएका छन् ।

यस विषयमा प्रतिक्रिया दिँदै निर्माता रोहित अधिकारीले निर्देशकले प्रयास गर्दा फोन नलागेपछि उक्त नम्बर डेड भइसकेको ठानी प्रयोग गरिएको बताएका छन् ।

उनले भने, “नम्बर प्रयोग गरेपछि पछि त्यो नम्बर श्रेष्ठजीको भएको पत्ता लाग्यो, हामीले चलचित्र विकास बोर्डको निर्देशनअनुसार नम्बर हटाएका थियौं, उहाँको घरमै गएर क्षमा पनि मागिएको थियो ।”

तर, सबै प्रक्रिया पूरा भइसकेपछि पनि श्रेष्ठले अदालतमा मुद्दा दायर गर्नु आफूलाई आश्चर्य लागेको अधिकारीको भनाइ छ । “अहिले एमएसएम भिडियोमा रहेको सो नम्बरसहितको फाइल हटाएर नयाँ फाइल राखिएको छ,” उनले भने