‘जिरो टु ८८४८’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपालकै होचो ठाउँ झापाको कचनकवलदेखि सगरमाथाको चुचुरोसम्मको रोचक, साहसिक र ऐतिहासिक यात्रालाई समेटेर निर्माण गरिएको वृत्तचित्र ‘जिरो टु ८८४८’ को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार नयाँ बानेश्वरस्थित वान सिनेमाजमा ट्रेलर सार्वजनिक गरिएको हो ।

निरञ्जन पाण्डे र बलराम बुढाथोकीले संयुक्त रूपमा निर्देशन गरेको वृत्तचित्रको अवधारणा सञ्चारकर्मी प्रेम बानियाँको हो । यस वृत्तचित्रमा सगरमाथा चढ्न हिंडेकाहरुको कथा, संकल्प र बाटोमा उनीहरुले भोग्ने चुनौतीहरु देखाइएको छ ।

सञ्चारकर्मी प्रेम बानियाँले पहिलो यात्रीका रुपमा यात्रा थालेका थिए । त्यससँगै १८ पटक सगरमाथा आरोहण गरिसकेका टेण्डी शेर्पा, विश्व साइकल यात्री पुष्कर शाह, आरोही, तथा लेखक कोन्राड एन्कर, आङपासाङ शेर्पा लगायतको यात्रा यसमा समावेश छ ।

कचनकवलदेखि सुरु भएको यात्रा इलामको कन्याम, श्रीअन्तु, धनकुटाको नाम्जे, हिले बजार, भोजपुरको मुन्धुम ट्रेल, खोटाङको हलेसी हुँदै , ओखलढुंगा, सोलुखुम्बुको पातले, सल्लेरी, बुप्सा, थामडाँडाहुँदै सुर्के, फाक्दिङहुँदै मञ्जो, नाम्चे बजार, खुम्जुङ, त्याङ्बोचे, दिङ्बोचे, लोबुचे, गोरखक्षेपपछि कालापत्थर र बेसक्याम्प क्याम्पसम्म पुग्छ । त्यसपछि क्याम्प १, क्याम्प २, क्याम्प ३, क्याम्प ४ (साउथकोल), हिलारी स्टेप हुँदै शिखरमा पुगेर यात्रा सम्पन्न हुनेछ ।

‘यो केवल वृत्तचित्रमात्रै होइन । देश चिनाउने हाम्रो अठोट हो,’ पत्रकार प्रेम बानियाँले भने, ‘समुद्री सतहबाट ५८ मिटरमा रहेको कचनकवललाई खनेर समुद्री सतह बराबर बनाउन सकिन्छ र त्यहाँ एउटा गाउँ बसाल्न सकिन्छ, जहाँबाट सगरमाथासम्मको यात्रा गर्न सकिन्छ भन्ने अवधारणा हामीले यसमार्फत अघि सारेका छौँ ।’

जलवायु परिवर्तन अध्ययनका लागि पनि यस गन्तव्य विशिष्ट हुने उनले बताए । त्यस्तै भूगर्भ पर्यटनको अध्ययन केन्द्र समेत बन्नसक्ने धारणा राखे । वृत्तचित्रलाई निर्देशकद्वय निरन्जन पाण्डे र बलराम बुढाथोकीले सम्पादन तथा छायांकन गरेका हुन् ।

श्री वाग्ले कार्यकारी निर्माता रहेको वृत्तचित्रमा उमंग शाही सहायक छांयाकार छन् ।