एक्सनप्रधान चलचित्र ‘आउट लः दफा २१९’को टिजरमा सुशीलको एङ्ग्री अवतार
संविधान दिवसको दिन अर्थात् आगामी असोजको ३ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘आउट लः दफा २१९’ को टिजर सार्वजनिक भएको छ ।
विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको एक्सन–थ्रिलर जनराको चलचित्रको टिजरमा सुशील श्रेष्ठ एङ्ग्री एक्सन अवतारमा देखिएका छन् । उनी साढे चार वर्षपछि पर्दामा देखिन लागेका हुन् । सुशील पछिल्लोपटक ‘लभ डायरिज’मा देखिएका थिए ।
द्वन्द्धका दृश्यहरूलाई प्राथमिकता दिइएको सार्वजनिक टिजरमा चलचित्रको कथावस्तुको सामान्य जानकारी मात्र दिन खोजिएको छ । यो चलचित्रले उठाएको कथावस्तु दर्शकका लागि पनि विशेष हुने निर्माण पक्षले बताउँदै आएको छ ।
टिजर हेर्दा ‘मस्ट वान्टेड’ घोषित कैदी जेलबाट फरार भएपछि त्यसमा खोजीमा निस्किएको प्रहरीको सर्च अप्रेसनको कथा यसमा रहेको बुझन सकिन्छ ।
स्तरीय मेकिङ देखिएको टिजर आकर्षक ब्याक ग्राउन्ड म्युजिकका साथमा तयार पारिएको छ । केही महिना अघि फस्टलुक बाहिर ल्याइएसँगै चलचित्रले चर्चा बटुल्न सफल भएको थियो ।
यो चलचित्रमा सुशीलको अलवा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारको अभिनय छ ।
अमित अग्रहरि निर्माता रहेको चलचित्रमा विनोद कठायत कार्यकारी निर्माता र विकास चौधरी सह–निर्माताको रूपमा छन् । चलचित्रमा नविन गुरुङको डीओपी, चुल्ठे काजीको एक्सन निर्देशन, साहिल खानको सम्पादन छ ।