राजनीतिक फण्डाले सिनेमा चल्छ भन्ने भ्रम नपाल
नेपाली सिनेमा उद्योगका विगत वर्षका तथ्यांकले करिब ९५ प्रतिशत सिनेमाले लगानी उठाउँदैनन् । हरेक वर्ष करिब ९५ प्रतिशत चलचित्रका निर्माता घाटामा जान्छन् ।
तर पनि लगानी हुन छोडेको छैन । चलचित्र बन्ने र रिलिज हुने क्रम रोकिएको छैन । जति धेरै चलचित्र बर्सेनि रिलिज हुन्छन्, त्यति नै लगानी गुमाउने सिनेमाको संख्या पनि बढ्छ । लगानी डुब्ने रकमको परिमाण पनि उच्च हुन्छ ।
विगतले प्रष्टै बताइदिँदा पनि निर्माताले त्यतातिर ध्यान दिएका छैनन् । उल्टै हतारहतार सिनेमा घोषणा गर्ने, त्यस्तै हतारमै चलचित्र निर्माण र रिलिज गर्ने र लगानी डुबाउने क्रम घटेको छैन ।
हरेक हप्ता रिलिज हुने सिनेमाको लगानी डुबिरहेको छ । तर निर्माता तथा निर्देशक सचेत भएका छैनन् । चलचित्र कसरी राम्रो बनाएर चलाउनेमा ध्यान दिएको पाइँदैन । दर्शक कस्ता चलचित्र हेर्न चाहन्छन् भन्नेमा ध्यान दिँदैनन् ।
राम्रो चलचित्र कसरी बनाउने भन्दा पनि सस्तो प्रचारबाजी कसरी गर्ने भन्नेतर्फ निर्माता तथा निर्देशकको ध्यान गएको देखिन्छ । कसरी हुन्छ दर्शकलाई क्वालिटी सिनेमा दिनुपर्छ भन्नेतर्फ केन्द्रित हुनुपर्नेमा कसरी फण्डा गर्ने भन्नेमा बढी जोड दिएको पाइन्छ । यसले निर्माता तथा निर्देशक चलचित्र निर्माण र दर्शकलाई कम आकिरहेका छन् भन्न पनि देखाउँछ ।
राजनीतिक फण्डा गरेर सिनेमा चल्छ भन्ने भ्रम पालेको देखिन्छ । सामाजिक सञ्जालमा भाइरल नेतालाई सिनेमामा खेलाउनेदेखि हेराउनेसम्म गरेर चलचित्र चलाउँछु भन्ने निर्माता र निर्देशकमा ठूलो भ्रम छ ।
प्रधानमन्त्रीलाई सिनेमामा खेलाउँदैमा चलचित्र चल्छ भन्ने भ्रममा रमाउनेदेखि प्रत्येक दलका शीर्ष नेतालाई हलमा लगेर चलचित्र चलाउँछु भन्नेको संख्या सानो छैन ।
राजनीतिक विषय उठान गर्दा समेत राजनीतिदेखि वितृष्णा भएका दर्शक हलमा जान्छन् कि जाँदैनन् भनेर पटकपटक सोच्नु पर्ने अवस्था रहेको समयमा नेतालाई नै सिनेमा खेलाएर चलचित्र चल्दैनन्, चल्थे भने ‘नमेटिने घाउ’ले ठूलो संख्यामा दर्शक तान्न सकिरहेको छैन ? यसमा बाहालवाला प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्म अटाएका छन् । भाइरल सांसदसम्मले खेलेका छन् ।
नाम चलेका नेता, प्रधानमन्त्री भइसकेका नेता र भाइरल नेतालाई चलचित्रमा खेलाउँदैमा चलचित्र हेर्न दर्शक हलमा जाने भए ‘नमेटिने घाउ’ले दर्शकको खडेरी सामना गर्नुपर्ने थिएन ।
नेताले हेरिदिँदैमा अथवा हेर्न लगाउँदैमा चलचित्र चल्ने भए नोपलमा सबैभन्दा धेरै चलचित्र नवल खड्का र दिनेश राउतका चल्थे होला । सबैभन्दा धेरै चलेका र सबैभन्दा धेरै बक्स अफिस कलेक्सन गर्ने चलचित्रको रेकर्ड खड्का र राउतकै नाममा हुनेथियो होला । चलचित्र ‘पञ्चायत’ अहिलेसम्मकै हिट चलचित्र हुन्थ्यो होला ।
दर्शकले हेर्ने चलचित्रको विषयवस्तु र त्यसको प्रस्तुति हो । चलचित्र चल्ने भनेको त्यसमा रहेको गुण र दोषका आधारमा हो । जति धेरै चलचित्र राम्रो छ, त्यति धेरै दर्शक हलमा जाने हो, जति कमसल चलचित्र छ त्यति नै कम दर्शक हलमा पुग्ने हो ।
त्यसैले राजनीतिक फण्डा गर्दैमा सिनेमा चल्छ भन्ने भ्रमबाट मुक्त भएर मेकर राम्रो चलचित्र बनाउनतर्फ लाग्नुपर्छ । होइन भने हलमा दर्शकको खडेरी लागिरहन्छ, निर्माताको लगानी डुबिरहन्छ ।