अनावश्यक विषबमन नगरौँ, राज्यलाई काम गर्न दियौँ

कोही पनि व्यक्ति कुनै विचार वा बादबिनाको हुँदैन । फरक यति हो, कोही त्यसमा अलि समय खर्चिन्छन् र देखिएरै लाग्छन् । कोही भने त्यसमा सक्रिय हुँदैनन् ।

बिनाआस्था र विचारको व्यक्ति हुँदैन । कोही पनि सिद्धान्त र विचारबेगरको व्यक्ति हुँदैन, कसैले बाहिर देखाउँछ, कसैले देखाउँदैन । जो खुलेर लाग्छ, त्यो व्यक्तिबारे थाहा हुन्छ, जसले बाहिर प्रकट गर्दैन, त्यो व्यक्तिबारे थाहा हुँदैन ।

कलाकारको पनि कुनै न कुनै विचारधाराप्रति आस्था हुन्छ । उनीहरूले बाहिर प्रकट गर्छन् वा गर्दैनन् भन्ने मात्रै हो । कलाकारले कुनै विचार वा सिद्धान्तप्रति आस्था राख्नै हुँदैन भन्ने होइन । कलाकार पनि यही समाजका मान्छे हुन्, उनीहरूले कुनै विचार, सिद्धान्त र पार्टीमा आस्था राख्नु हुँदैन र पार्टीमा लाग्नु हुँदैन भन्ने छैन ।

जो कसैले पनि आफूले चाहेको पार्टीमा लाग्न सक्छ, विचार वा सिद्धान्तलाई अवलम्बन गर्न सक्छ ।

पछिल्लो समय निर्देशक तथा कलाकारद्वय निश्चल बस्नेत र दीपकराज गिरीले राजनीति गरे भनेर आलोचना भइरहेको छ । बालेनको पक्षमा उभिएको, रास्वपासँग नजिक रहेको भन्दै राजनीति होइन चलचित्रमा नै सीमित रहन भन्दै उनीहरूको चर्को आलोचना भइरहेको छ ।

कुनै पनि व्यक्ति को सँग नजिक हुने वा नहुने, कुन राजनीतिक दलनिकट हुने वा नहुने उसको नितान्त व्यक्तिगत अधिकार हो । कसको समर्थन र विरोध गर्ने उसको व्यक्तिगत अधिकार हो ।

कोही कसैँग नजिक रहेको भन्दैमा उसका चलचित्र बहिष्कार गर्ने भन्दै गाली गर्ने अधिकार कसैसँगै छैन । रह्यो कुरा चलचित्र हेर्ने अथवा नहेर्न मन लाग्छ हेरे भयो नलागे नहरे भयो । यो पनि नागरिकको अधिकारको कुरा हो ।

अर्को कुरा संसद् भबन जलाउन भदौ २४ गते आन्दोलनकारी युवालाई उक्साएको भन्ने आरोप लगाएर उनीहरूमाथि गाली गर्ने काम भइरहेको छ । निश्चल र दीपक दुवैले आफूहरूले आगो लगाउन त के एउटा ढुंगा हानेको मात्रै भए पनि देखाउन चुनौती दिएका छन् । प्रमाणित भए जस्तो सुकै कारबाही भोग्न तयार रहेको बताएका छन् । छानबिनमा राज्यलाई सघाउन तयार रहेको बताइसकेका छन् ।

छानबिन गरेर दोषी देखिए कारबाही गर भनेर भनिसकेको अवस्थामा उनीहरूलाई राज्य संयन्त्रले अनुसन्धान गरेर दोषी पाइए कारबाहीको सिफारिस गर्ला, कारबाही पनि गर्ला । सम्बन्धित निकायलाई छोडिदिए भयो त । किन, अनावश्यक गाली गर्नु ।

राज्यको सम्पत्ति नष्ट गर्ने जोकोहीलाई कारबाही हुनुपर्छ, कसैले पनि उनमुक्ति पाउनु हुँदैन । त्यसैले अभद्र गालीगलौज होइन सम्बन्धित निकायलाई काम गर्न दियौँ । काम गर्ने वातावरण बनाइदियौँ । बरु छ भने तथ्यप्रमाण दियौँ, ताकि राज्यलाई अनुसन्धान र कारबाही गर्न सहज होस् । अनावश्यक विषबमन नगरौँ, मनोबल गिराउने काम नगरौँ ।