प्रकाश सपूतलाई डर लाग्या हो आफैले अभिनय गरेका चलचित्रका प्रचार सामग्रीबाट ?
काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर धेरैले मन पराए । धेरैपछि चलचित्रको टिरजको चौतर्फी तारिफ भएको हो । बुवाको मुख हेर्ने दिन यही टिजर फेसबुकमा सेयर गर्दै धेरैले बुवालाई शुभकामना दिए ।
कारण बुवाले छोरोको पढाईका लागि गरेको संघर्ष र सम्झौता टिजरमा देखाइएको छ । टिजरको छोटो संवाद र समावेश गीतको अंशले दर्शकको ध्यान खिच्यो । गन्दर्व गीतको भावनात्मक पक्षले दर्शकको मन जित्यो । यही पक्षले धेरैलाई लोभ्यायो । त्यसैले चलचित्रकर्मी मात्रै होइन दर्शकले पनि टिजर सेयर गर्दा धेरैको फेसबुकको वालमा टिजर देखियो । चलचित्र नै प्रतिक्षित बन्यो ।
तर, अचम्मको पक्ष भने टिजरमा प्रशस्त समय अकुपाई गरेका सिनेमाका मुख्य कलाकारमध्येका एक प्रकाश सपुतले यो सिनेमाको पोस्टर, टिजर आफ्नो फेसबुकमा सेयर गरेनन् ।
जबकी उनी फेसबुकमा सक्रिय छन् । अन्य पोस्ट सेयर गरिरहेका छन् । गीतको भिडियो सेयर गरेका छन् । आफ्नै लेखन तथा निर्देशन रहेको चलचित्र ‘वसन्त’को पोस्टर सेयर गरेका छन् ।
‘वसन्त’को छायांकन सुरु भएको तस्बिर राखेका छन् । आफू ब्रान्ड एम्बेस्डर रहेको प्रोडक्डका पोस्टहरू सेयर गरेका छन् ।
जबकी कात्तिक १५ गते ‘पूर्ण बहादुरको सारङ्गी’ रिलिज हुँदैछ । त्यसको पाँच महिनापछि चैत २२ गते ‘वसन्त’ रिलिज हुनेछ । ‘पूर्ण बहादुरको सारङ्गी’ अहिले पोस्टप्रोडक्सनमा छ । ‘वसन्त’को भर्खर छायांकन सुरु भएको छ ।
रिलिजको हिसावले अगाडि रहेको र प्रचारको काम सुरु गरिसक्नुपर्ने चलचित्रलाई चाहिँ किन प्रकाशले बेवास्था गरिरहेका छन् भन्ने प्रश्न यतिबेला धेरैको जिज्ञासा छ ।
स्रोतका अनुसार प्रकाश ‘पूर्ण बहादुरको सारङ्गी’भन्दा ‘वसन्त’ पहिला रिलिज होस् भन्ने पक्षमा थिए । आफ्नो निर्देशन तथा निर्माण रहेको चलचित्र रिलिज भएपछि मात्रै ‘पूर्ण बहादुरको सारङ्गी’ रिलिज होस् भन्ने उनको चाहना थियो ।
‘पूर्ण बहादुरको सारङ्गी’को निर्माणपक्ष यसका लागि तयार पनि थियो । सुरुमा तयारी पनि त्यही नै थियो । तर वितरकले निर्माणपक्षलाई कात्तिकमै चलचित्र रिलिज गर्न दबाब दिएको स्रोत बताउँछ । वितरकलाई निर्माणपक्षले नाईं भन्न सकेन । त्यसैले यो चलचित्र अगाडि आयो । रिलिजका हिसावले ‘वसन्त’ पछाडि पर्यो ।
सामान्यतया अगाडि पोस्टको काम सकिएको चलचित्र अगाडि आउनु स्वभाविक पनि हो । कागजी सम्झौता नै यो पछि मात्रै यो चलचित्र आउँछ भन्ने छ भने बेग्लै कुरा हो । यस्तो सम्झौता भएको छ भने ‘पूर्ण बहादुरको सारङ्गी’को टिम नै गलत छ । होइन भने पोस्टको काम समेत सकिन लागेको चलचित्र फ्लोरमा भर्खर गएको सिनेमालाई पर्खिनुपर्छ भन्ने तर्क बलियो होइन ।
कुरा रह्यो, ब्यापारको । अगाडि रिलिज हुने चलचित्रले धेरै कमाउने पछाडि प्रदर्शन हुने चलचित्रले कम कमाउने वा नकमाउने भन्नै त पक्कै हुँदैन । जुन चलचित्र राम्रो छ, त्यही चलचित्र चल्ने हो । राम्रो चलचित्रलाई न गर्मीले छेक्छ न पानीले । न महिनाले रोक्छ न डेटले । न दशैँ तिहार नै चाहिन्छ छ न नयाँ वर्ष नै ।
फागुनमा रिलिज हुँदा पनि ‘छक्का पञ्जा–४’ले अरु चलचित्रलाई पछि पार्ने बक्स अफिस कलेक्सन गरेको कति नै भयो र बिर्सिनलाई । रह्यो लगातार एउटै कलाकारका चलचित्र आउँदा चल्दैन कि भन्ने डरको ।
दयाहाङ राईका एकै दिन दुईटा चलचित्र रिलिज भैरहेका छन् । एकै दिन रिलिज हुँदा नचलेको हो कि भनेर ‘बिहे पास’ पुनः पछि रिलिज गरिएको होइन र ? पुनः प्रदर्शनमा पनि यो सिनेमा चलेन ।
प्रकाशलाई ‘पूर्ण बहादुरको सारङ्गी’ हेरेका दर्शकले फेरि मेरो निर्देशन म आफैँ मुख्य भूमिकामा रहेको ‘वसन्त’ हेर्दैनन् कि भन्ने लागेको हो भने आखिर निर्माताको आँखाबाट हेर्दा त लोभ त सबैलाई हुन्छ । तपाईंलाई जसरी ‘वसन्त’ भन्दा ‘पूर्णबहादुरको सारङ्गी’ अगाडि आयो भने वसन्त चल्दैन भन्ने डर छ त्यही डर ‘पूर्णबहादुरको सारङ्गी’को निर्मातालाई भयो भने ?
प्रकाशजी लगानी डुबोस् भनेर त पक्कै पनि कसैले चलचित्रमा करोडौं लगानी त गर्दैन होला, कि गर्छ ? गर्दैन भने जसले पहिला काम सक्छ उसले म अगाडि रिलिज गर्छु भन्न त पाउँछ होला । एकपटक आफूले लगानी गरेको चलचित्रको मात्रै होइन अर्को चलचित्रको निर्माता भएर पनि सोच्ने हो की ?
तर, प्रकाशजी तपाईं मात्रै होइन जो सुकै कलाकार, निर्माता तथा निर्देशकले पनि बुझ्नु पर्ने मुख्य कुरा चाहिँ के हो भने राम्रो चलचित्र जहिले लगाए पनि चल्छ । अगाडि र पछाडि मात्रै होइन मध्यराति पनि चल्छ । ‘केजिएफ–च्याप्टर २’ कै उदाहरण छ ।
रह्यो अर्को कुरा, ‘पूर्ण बहादुरको सारङ्गी’मा तपाईंले राम्रो काम गर्नु भएको छ भने यसले ‘वसन्त’लाई चलाउन मद्धत नै फाइदा गर्छ । तपाईले दर्शकलाई जति धेरै विश्वास दिलाउनु हुन्छ, त्यति धेरै तपाईंका दर्शकले तपाईलाई फलो गर्ने हुन्, तपाईंका सिर्जना हेर्ने तथा सुन्ने हुन् ।
आफूलाई मात्रै केन्द्रमा राखेर होइन चलचित्रलाई केन्द्रमा राखेर काम गर्नुपर्छ । बनिसकेको चलचित्रलाई पुरानो बनाएर राख्न होइन कलाकारले यसलाई तत्काल रिलिज गर्न पहल गर्नुपर्छ । निर्माता रहे चलचित्र बन्ने हो, चलचित्र बने कलाकार हुने हो, काम पाउने हो । चलचित्र नै नबने कसरी हुन्छ कालकार, को हुन्छ हिरो ? त्यसैले प्रकाशजी आफ्नो मात्रै होइन अरुको लगानी, निर्देशन र लेखन रहेको चलचित्रलाई पनि आफ्नै ठान्ने पो हो कि ?
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र कात्तिक १५ गते रिलिज हुनेछ । विजय बराल र प्रकाश सपूत सँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।
सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् ।
यो चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ । सोसल–ड्रामा जनरा निर्माण भएको चलचित्रले गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।
सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । विनोद र प्याट्रिक लगानी रहेको सिनेमाका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।
सिनेमामा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।
यो पनि पढ्नुहोस्
यसरी जित्यो ‘पूर्ण बहादुरको सारङ्गी’को टिजरले दर्शकको मन
‘पूर्ण बहादुरको सारङ्गी’को टिजरमा संघर्ष र उपलब्धी