प्रकाश सपूतले ‘पूर्ण बहादुरको सारङ्गी’को टिमलाई यसरी गरे गाली, पब्लिसिटीमा नहिँड्ने
काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपूतले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माणपक्षलाई इमानको व्यवाहर देखाउन आग्रह गरेका छन् । सिनेमाको पर्दामा इमानदारिता देखाएजस्तै बाहिर पनि त्यस्तै व्यवाहार देखाउन आग्रह गरेका हुन् ।
“पर्दामा यस्तो सपना, संघर्ष र इमानको कथा बनाएर बाहिर चाहिँ अरुको सपना, संघर्ष र इमानमाथि बेइमानी र बदनामी गर्नेहरूसँग चाहिँ फेरि जोडिन नपरोस्,” प्रकाश सामाकि सञ्जाल फेसबुकमा लेख्छन्, “कम्तिमा मर्यादित बनौँ ।” उनले यस्तो टिमसँग पुनः सहकार्य गर्न नपरोस् भनेर कामना पनि गरेका छन् । अप्रत्यक्ष रुपमा उनले कडा शब्दमा ‘पूर्ण बहादुरको सारङ्गी’को टिमलाई आलोचना गरेका छन् ।
अप्रत्यक्ष रूपमा उनले ‘पूर्ण बहादुरको सारङ्गी’को पब्लिसिटीमा नहिँड्ने प्रष्ट पारेका छन् । “यसै पनि म उतिसारो प्रचारप्रसार गर्न जान्ने र जाँगर गर्ने कलाकार पनि होइन,” उनी अगाडि लेख्छन्, “भूमिकाका हिसाबले पनि सारंगीमा मेरो भारी अलि कम छ जति अरुको छ ।” अरु नै भूकिका हिसाबले सिनेमामा अगाडि रहेको उनले बताएका छन् ।
तर उनले आफ्नो कामको भने माया लाग्ने गरेको उनको भनाइ छ । “मान्छेहरूको व्यवहार जस्तो भए पनि आफ्नो कामको माया लाग्छ,” उनले भने । उनले आफ्नाबारेमा आउँदा दिनमा नकारात्मक नबोल्न चेतावनी दिएका छन् । “यो नै अन्तिम स्पष्टीकरण हो । अब सार्वजनिक रुपमा शर्त, सम्झौता र नकरात्मकताको कुरा गरिने छैन ।”
उनले निर्माणपक्षलाई सिनेमा राम्रो छ भनेर धेरै अभिमान नदेखाउन आग्रह गरेका छन् । “अर्को कुरा सिर्जना, दर्शकको शुभेच्छा र स्वयं सिर्जनाको दमले चल्छ । सर्जक, निर्माता वा कलाकारको दम्भले होइन । म यो कुरामा सँधै स्पस्ट छु,” उनले भने ।
यस्तो छ उनको स्टाटस
पहिलो चलचित्र परदेशी २ लाई मैले करिब ४ वर्ष पर्खिएको थिएँ । त्यस बिचमा अवसर पाएर पनि मैले अरु कुनै चलचित्र गरिन ! साथै आफुले सोचेको भन्दा अर्कै समयमा चलचित्र रिलिज हुने भएर पनि मैले आफ्नो व्यवसायिक संगित करियरको एउटा मोडलाई चटक्कै छोडेर चलचित्रलाई मनै देखि दर्शकहरु सम्म लिएर गए र दर्शक को माया पनि पाईयो । मलाई मेरो पेशाको प्रकृति र कर्तव्य थाहा छ । मैले त राम्रा कथाहरु डिटेलमा भन्न पाईयोस भनेर चलचित्र कर्म रोजेको हो । नत्र नेपाली दर्शक स्रोताबाट यो जुनिलाई पुग्ने माया, शुभेच्छा र आशिर्वाद मैले संगित मार्फत पाईरहेको छु । हिरो बन्ने रहर पनि परदेशी २ बाट पुरा भई नै हाल्यो । खासमा हाम्रो चलचित्र बसन्त का निर्माताहरु, वितरकहरु र सहकार्य गर्ने ब्राण्हरु संग परदेशी २ पछि बसन्त नै आउनेछ भन्ने शर्तमा सम्झौता गरेका छौ ।
यो बिचमा थुप्रै निर्माता निर्देशकहरुहरुले आफ्नो चलचित्रमा काम गराउन चाहानु भएको छ तर मैले ‘मलाई केहि समय चाहिन्छ है ‘ भने पछि केहि ले प्रोजेक्ट होल्ड गरेर पर्खिरहनु भएको छ । केहि ले ‘ल फेरी गरौला ‘ भनेर अरु विकल्प सोचिसक्नु भएको छ ।म यतिखेर उहाहरु सबै संग लज्जित छु । किनकि टिम वर्क मा एउटा मान्छे बैमानीमा पर्दा उ संग जोडिएका अरु थुप्रै मानीसहरुलाई धोका हुन्छ । मैले पुर्ण बहादुरको सारंगिका लागि कुनै शर्त राखेको थिईन । मैले त उहाहरुलाई आफ्नो समस्या राखेको थिए र सोच्ने समय दिएको थिए । सोचेरै सम्झौतामा स्पस्ट लेखिएको पनि छ १
जेहोस, पुर्ण बहादुरको सांरगि राम्रो कथामा बनेको छ । मैले राम्रो भएर नै मनै देखि काम गरेको हु । बिजय बराल, मुकुन भुषाल जस्ता जिवन्त कलाकार संग काम गर्न मनै देखि ख़ुशी थिए र मनै देखि दर्शक सम्म लिएर जाने रहर थियो । तर चलचित्र अचानक प्रदशन हुने भय पछि म सरप्राइज़ भए । म संग लड़ि बस्ने ईनर्जि भएन । मैले केहि भन्न सकिन । यतिखेर म बसन्तको छायांकनमा छु । यसको सम्पुर्ण ज़िम्मेवारी आफ्नै काधमा भएकोले समय मिलाउन अलि गार्हो भएको छ र मानसिक रुपमा पनि अरु सोच्न सकिने अवस्था छैन । यसै पनि म उति सारो प्रचार प्रसार गर्न जान्ने र जागर गर्ने कलाकार पनि होईन । भुमिका का हिसाबले पनि सारंगिमा मेरो भारी अलि कम छ जति अरुको छ ।
खैर, मान्छेहरुको व्यवहार जस्तो भए पनि आफ्नो कामको माया लाग्छ । कार्तिक १५ मा रिलिज हुने भए पछि अब यो चलचित्र शर्त र सम्झौताहरु बाट बाहिर निस्केर हामी सबैको भयो । अझै बढि दर्शकहरुको भयो । तपाईहरुको भयो । म यो कथा र आफ्नो पात्र “ कमले” लाई लिएर एकदमै उत्साहित छु र कामना गर्छु , पुर्ण बहादुरको सारंगी जस्तो कथाहरु संग जोडिन पाईराखौ । कमले जस्तो सामान्य पात्र भएर ‘बा’ को सपना बाच्न पाईराखौ । तर पर्दामा यस्तो सपना, संघर्ष र ईमान को कथा बनाएर बाहिर चाहि अरुको सपना, संघर्ष र ईमान माथी बेईमानी र बदनामी गर्नेहरु संग चाहि फेरी जोडिन नपरोस । कम्तिमा मर्यादित बनौ । अर्को कुरा सिर्जना , दर्शकको शुभेच्छा र स्वयं सिर्जनाको दम ले चल्छ ! सर्जक, निर्माता वा कलाकारको दम्भ ले होईन । म यो कुरामा सधै स्पस्ट छु ।
अन्तमा, यो नै अन्तिम स्पस्टिकरण हो है । अब सार्वजनिक रुपमा शर्त, सम्झौता र नकरात्मकताको कुरा गरिने छैन । अब सकरात्मक ढंगले पुर्ण बहादुरको सांरगि को प्रमोशन गरिनेछ ! सबैको मनमा मिठो धुन बजाईनेछ । है त…
भेटौला “पुर्णेको छोरा कमले” संग कार्तिक १५ गते !
यो पनि पढ्नुहोस्
भुइँमान्छेको कथा भन्दै ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक
प्रकाश सपूतलाई डर लाग्या हो आफैले अभिनय गरेका चलचित्रका प्रचार सामग्रीबाट ?
प्रकाश सपूत आफ्नै चलचित्रको कार्यक्रममा किन उपस्थित भएनन् ?