‘पूर्णबहादुरको सारङ्गी’: प्रकाश सपूतले मागे माफी, गल्ती सच्याउने प्रतिबद्धता

काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ यतिबेला बक्स अफिसमा शानदार प्रदर्शन गरिरहेको छ, लगातार नयाँ रेकर्डहरू बनाउँदैछ । तर, यसै चलचित्रका अभिनेता प्रकाश सपूत भने विवादका कारण दर्शकको आलोचनाको केन्द्रमा छन् । चलचित्रको प्रमोशनमा भाग नलिएको र निर्माण पक्षसँगको मतभेदका कारण दर्शकहरूले उनको आलोचना गरेका थिए ।

चलचित्रको रिलिज अघि नै निर्माण पक्ष र सपूत बीच विवाद भएको र उनले प्रमोशनमा सहयोग नगरेको आरोप थियो । सपूतले विवादकै कारण चलचित्रको प्रचारमा नलागेको स्वीकार गरेका छन् र जानी नजानी मन दुःखाएको भन्दै माफी मागेका छन् ।

आलोचना बढेपछि शनिबार सामाजिक सञ्जालमा एउटा पोस्ट लेख्दै भनेका छन्, ‘जानी नजानी मन दुखाएकोमा माफी चाहन्छु, कमजोरीहरु सुधार्दै जाउँला । अब त उमेरले पनि अलि पाको हुँदै गईयो । सस्तो चर्चा, परिचर्चा, सफलता, व्यवस्तताभन्दा पनि एउटा राम्रो विचार र व्यवहासहितको व्यक्ति बन्न चाहन्छु । यसरी खबरदारी चाहिँ गर्दै गर्नुस तर राम्रो ऊर्जा पनि दिनुस न है । म कलामार्फत थुप्रै कुरा भन्न सक्छु, समाजलाई सुसुचित र राज्यलाई प्रश्न गर्न सक्छु । तपाईहरुलाई निरन्तर मनोरन्जन गर्न सक्छु ! यति आत्मविश्वास छ ।’

उनले माफी माग्दै आफ्नो व्यवहारमा सुधार गर्ने बताउँदै पोस्टमा अघि लेखेका छन्, “कहिलेकाहीँ स्वाभिमानी भन्दा बढी व्यवहारिक भएर सोच्नुपर्ने रहेछ, १२ वर्षको कलाकारितामा मेरो व्यक्तिगत कर्म अलि अपजसी र अभागी भए पनि मेरो पेसागत कर्मलाई तपाईँहरूले भाग्यमानी प्रमाणित गरिदिनु भएको छ । मलाई अझ परसम्म पुग्नु छ, मलाई अलि समय दिनुस् ।’

यस्तै, सपूतले आफूमाथि भएका आलोचनालाई सकारात्मक रुपमा लिँदै आफ्नो कमजोरी सुधार्ने र समाजलाई कला मार्फत सुसूचित गर्न निरन्तर क्रियाशील रहने प्रतिवद्धता जनाएका छन् ।

यस्तो छ प्रकाश सपूतको भनाई 
नमस्कार सबैमा  
ए, म त हेर्नै भ्याएको थिएन । धेरैले गाली र  गुनासो गर्नु भएको पो रहेछ  । पहिला सहयोग गरेन भनेर । म त काम गर्ने मान्छे हु । चलचित्र रिलिज हुँदाको दिनमा  पनि काम मै थिए है । मैले आफ्नो धर्म छोडेको छैन । एउटा स्वाभिमान सबैमा हुन पर्छ । त्यो म मा पनि छ । तपाईँहरूमा पनि होला । सम्झौता अनुसार नभएपछि मैले केही समय आफ्नो अडान लिएकै हो तर कहिलेकाहीँ स्वाभिमानी भन्दा बढी व्यवहारिक भएर सोच्न पर्ने रहिछ । मैले त्यही सोचे र रिलिजको लागि मनै देखि लागी परे । त्यो कुरा यस चलचित्रका निर्माता, निर्देशक र सबै टिमलाई थाहा छ । कुनै दिन मौका मिलेछ भने तपाईँहरूलाई पनि सेयर गरौला । अहिलेलाई चलचित्रको सफलता नै सेयर गरौँ है । तपाईँहरूलाई फिल्म हेरे पछि खत्रा लाग्यो, मेरो प्रोफ़ाईल चेक गर्नु त मलाई त त्यति  खेरै खत्रा लागेर सुटिङ सकेकै दिन सेयर गरेको थिए – “ पूर्णबहादुरको सारङ्गी जस्तो कथा बनिरहनु, मौलिक सांरगिको धुन गुन्जिरहनु र त्यसमा म जोडिन पाईराखौ ।” 

ठिक छ, १२ वर्षको कलाकारितामा मेरो  व्यक्तिगत कर्म  अलि अपजसी र अभागी भए पनि मेरो पेशागत कर्मलाई तपाईँहरूले भाग्यमानी प्रमाणित गरिदिनु भएको छ । हेर्नु त परदेशी २ बाट पोहोर त हो नि फिल्म मा आएको , यो वर्ष नै बलकबस्टर फिल्म खेल्न पाए । उम्दा अभिनेता विजय बराल, मुकुन भुसाल जस्ता कलाकार सँग स्क्रिन सेयर गर्न पाए । आफ्नै निर्देशनमा “बसन्त”  बनाउने आट गरेको छु । अर्को चलचित्र आदर्णिय हरिवंश आचार्य सँग गर्दै छु । कस्तो लक्की हैन त।हुन त लाइफमा  दुख पनि गरेको छु है फेरी ! जे होस म सधैँ रिणि छु तपाईँहरू प्रति । जानी नजानी मन दुखाएकोमा माफी चाहन्छु । कमजोरीहरू सुधार्दै जाउला । अब त उमेरले पनि अलि पाको हुँदै गइयो, सस्तो चर्चा, परिचर्चा, सफलता, व्यवस्तता भन्दा पनि एउटा राम्रो विचार र व्यवहार सहितको  व्यक्ति बन्न चाहन्छु । यसरी खबरदारी चाहिँ गर्दै गर्नुस् तर राम्रो ऊर्जा पनि दिनुस् न है । म कला मार्फत थुप्रै कुरा भन्न सक्छु , समाजलाई सुसूचित र राज्यलाई प्रश्न गर्न सक्छु । तपाईँहरूलाई निरन्तर मनोरञ्जन गर्न सक्छु ! यति  आत्मविश्वास छ । मलाई थप निरुत्साहित नगर्नुस् है । मलाई अलि पर सम्म पुग्नु छ, केही समय नरोक्नुस् है  !