karsang
Close Me

पूर्णबहादुरको सारंगी’ले रच्यो एकैदिन सर्वाधिक कमाउने सिनेमाको कीर्तिमान, दश दिनमा कमायो करिब १८ करोड

काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ले बक्सअफिसमा शानदार प्रदर्शन गर्दै एकैदिनमा सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रको रेकर्ड कायम गरेको छ ।

दोस्रो हप्तामा प्रवेश गरिसकेको सिनेमाको निर्माण पक्षले दशौं दिनसम्मको कलेक्सन सार्वजनिक गरेको छ । जसअनुसार चलचित्रले प्रदर्शनको दशौं दिनमा देशब्यापी १७ करोड ९८ लाख ग्रस कमाइ गरेको छ । जसमा, शुक्रबार २ करोड ९९ लाख आम्दानी गरेको चलचित्रले शनिबार ३ करोड ८९ लाख ग्रस आम्दानी गरेको छ, जुन अहिलेसम्म एक दिनमा भएको ग्रसकलेक्सनको रेकर्ड हो ।

यसअघि एकैदिनमा धेरै कमाउने चलचित्र ‘कबड्डी ४’ थियो, जसले पहिलो दिनमा २ करोड ९० लाख ग्रस कमाएको थियो । यसपछि ‘भष्मे डन’ले पहिलो दिन दुई करोड २५ लाख कलेक्सन गरेको थियो । यी सबैको रेकड तोडेसँगै ‘पूर्ण बहादुरको सारङ्गी’ले आफूलाई हालको सर्वाधिक सफल नेपाली सिनेमाको रुपमा उभाएको छ ।

चलचित्रको कूल कलेक्सनमा काठमाडौं उपत्यकाको ५२ र मोफसलको ४८ प्रतिशत हिस्सा छ । यस्तै, विजय बरालले सहायक भूमिकामा काम गरेको ‘कबड्डी ४’को रेकर्ड उनको नै मुख्य भूमिका रहेको ‘पूर्ण बहादुरको सारङ्गी’ले तोड्न सफल भएको छ ।

कात्तिक १५ गते रिलिज भएको चलचित्र अहिले देशभर हाउसफूल अकुपेन्सीमा चलिरहेको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ले बिहान सबेरैदेखि मध्यरातसम्म शो पाउने नयाँ रेकर्ड बनाएसँगै यो सिनेमाले हालसम्मकै धेरै शो पाउने चलचित्रको रेकर्ड बनाएको छ ।

कूल शोको तीन चौथाइभन्दा धेरै शो पाउँदा पनि दर्शकले सहज रूपमा चलचित्र हेर्न पाएका छैनन् । दर्शकले चलचित्र हेर्न नपाएपछि बिहान ४ः४५ देखि राति ११ः४५ बजेको शो समेत हलले लगाएका छन् । यी शो हाउसफूल भएका छन् । चलचित्रले शनिबार देशभर ४८० शोज पाएको थियो । साथै, एकैदिनमा सबैभन्दा बढी दर्शकले हेर्ने सिनेमा र दोस्रो सातामा सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने रेकर्ड यो चलचित्रको नाममा रेकर्ड बनेको छ ।

‘पूर्ण बहादुरको सारङ्गी’को व्यापारिक रफ्तार हेर्दा यसले नेपाली चलचित्रको इतिहासमै सर्वाधिक कमाइको रेकर्ड राख्ने सक्ने प्रबल सम्भावना देखिएको छ ।

सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।