प्रकाश र परीक्षाको ‘सोल्टिनी’ को औपचारिक घोषणा, २०८२ को असोजमा प्रदर्शन हुने
काठमाडौं । चलचित्र ‘सोल्टिनी’ को औपचारिक घोषणा गरिएको छ । सोमबार अनाउन्समेन्ट भिडियो सार्वजनिक गर्दै चलचित्रका प्रमुख पात्र र विषयवस्तुबारे जानकारी दिइएको हो ।
चलचित्र ‘रङ्गेली’ निर्देशन गरी चर्चामा आएका अर्जुन सुवेदीले निर्देशन गर्ने ‘सोल्टिनी’ मा गायक तथा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बु शीर्ष भूमिकामा देखिने खबर केही दिनअघि आर्ट खबरले सार्वजनिक गरेको थियो ।
सोमबार सार्वजनिक घोषणा भिडियोमा चर्चित कथा वाचक साइग्रेस पोखरेलको न्यारेशनले चलचित्रको भाव व्यक्त गरेको छ ।
चलचित्रले समाजमा विद्यमान अमानवीयता र जातीय भेदभावलाई उजागर गर्दै यसविरुद्ध आवाज उठाउने कथा प्रस्तुत गर्ने भिडियोमा संकेत गरिएको छ ।
चलचित्रमा अभिनेता प्रकाशले ‘भीमसेन पोखरेल’ नामक पात्रको भूमिका निर्वाह गर्ने जनाइएको छ । भिडियोमा उनको पात्रले भनेको छ, ‘सोल्टिनी आयौ, अन्तिम पटक भेट्ने मौका दियौ । तिम्रो अनुहार हेर्न नपाई डोली चढ्छौ जस्तो लागेको थियो ।’
अभिनेत्री परीक्षाको ‘दिलासा राई’ को भूमिकाले भन्छ, ‘सोल्टी, म तपाईँलाई एकदमै माया गर्छु, यति धेरै की तपाईँले सोच्न पनि सक्नुहुन्न । तर हामी एक हुन सक्दैनौँ ।’
यी संवादले यस चलचित्रमा अपुरो प्रेमको गहिरो कथा रहेको अनुमान गर्न सकिन्छ । चलचित्रको कथा भोजपुरको कुनै गाउँमा आधारित रहने भिडियोमा जनाइएको छ । पृष्ठभूमिमा चलचित्रको थिम गीतले भावनात्मक स्पर्श थपेको छ ।
प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिनेको र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो चलचित्रले पुस १५ बाट छायांकन सुरू गर्ने तयारी गरेको छ । हाल चलचित्रका कलाकार र प्राविधिक टोलीको वर्कसप चलिरहेको छ । चलचित्र घोषणासँगै रिलिज मिति पनि सार्वजनिक गरिएको छ ।
२०८२ सालको असोज ३ गते संविधान दिवसको दिनलाई यसको प्रदर्शन मिति घोषणा गरिएको छ ।